जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर एमसिसी पास गरेका छौँ ; मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले आज आयोजना गरेको राजनीतिक एवं वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताएका छन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने, “देशीविदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनःनिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताएका छन् । जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरेका छन्् ।

“हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन”, उनले भने, “माओवादीले प्राप्त गरेको उपलब्धि जीवन्त रहन्छन् । माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका साथीले धोका दिए ।” उनले भने, “वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।”

मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरेका छन् । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुढृढीकरण भएको उनको दाबी छ । एमसिसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसिसी लागू हुने बताए । “जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौँ”, उनले भने, “कानुनको अङ्ग एमसिसी भएको छ । सहमति अनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।”

माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सही तरिकाले जनतामा पुर्याउनुपर्ने बताए । उनले पार्टीको विचार, कार्ययोजना, नीति जनतामाझ पुर्याउनुपर्ने भन्दै चुनाव केन्द्रीत हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

माओवादी पार्टी विरुद्ध संयन्त्र भइरहेको भन्दै सहिद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उनले बताए । कार्यक्रममा प्रदेश समिति सदस्य प्रेम घर्तीमगर, राजिव घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोलेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *