मोबाइलको टावर खोज्न अग्लो स्थान धाउनुपर्ने बाध्यता

काठमाडौँ । पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ ।

पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान नभएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखिको नेटवर्क समस्या यथावत रहेको पीडा उनीहरुसँग छ । डडेल्धुराको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकाका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको पर्शुराम–२ का स्थानीयवासी राज बोहराले जानकारी दिएका छन् ।

स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि अग्लो स्थान र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उनको भनाइ छ ।

सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौं हिंडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि भित्री मधेसका ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावरको पर्खाइमा छन् ।

पर्शुरामका तोली, अन्तोली वसुन, बजाडी, जमरा, गोगन, सुर्खाल, पोख्ना सर्गै आलिताल गाउँपालिकाका दुर्गम बस्तीमा समेत नेटवर्क समस्या रहेको छ । भने जिल्लाका अन्य पालिकाका लेकाली बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत रहेको छ । हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ । नेपाल टेलिभिजनको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुन्छ पर्शुराम कृष्णाका खगेन्द्र कामीले जानकारी दिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको सङ्ख्या कम हुनु र विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीकोे दाबी छ । महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले कर मात्रै तिर्नुपरेको भित्री मधेश मलास क्षेत्रका युवा प्रमोद बोहराले बताएका छन् ।

नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा समस्या भोगिरहेका स्थानीयवासी चूडामणि पनेरुले बताएका छन् । दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहँुचमा नपुग्नाले धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उनको भनाइ छ ।

स्थानीय निर्वाचनमा पनि दुर्गम बस्तीमा टावर र वाइफाइको सुविधा पुर्याउने जनप्रतिनिधिलाई सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । हामी सामान्य सूचनाको पहँुचबाट पनि टाढा भएका छौँ । यसपालि स्थानीय तहको निर्वाचनमा सो सुविधा पुर्याउन सक्ने जनप्रतिनिधिलाई छान्ने यहाँको युवाको दाबी छ । पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले सबै क्षेत्रका लागि टावरको माग भएको र चाँडै विस्तार गरी सुविधा सम्पन्न नेटवर्कसहित वाइफाइ विस्तार गरिने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *