३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

काठमाडौँ । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको खोप दिने लक्ष्य रहेको छ । हालसम्म ९ हजार ८ सय ४५ जनाले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । १९ हजार २ सय ६१ जनालाई बुस्टर डोज लगाउन बाँकी रहेको छ ।

गएको माघ ३ गतेदेखि जिल्लामा कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा जिल्लामा अग्रपंतिमा रहेकालाई बुस्टर डोजको खोप लगाइएको थियो । क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई लगाउन थालिएको थियो ।

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएको ६ महिना पुरा भएका नागरिकले बुस्टर डोजको खोप लगाउन पाउँछन् । स्वास्थ्य कार्यालय रसुवाले अभियान नै सञ्चालन गरी बुस्टर डोजको खोप लगाइरहेको छ । हालसम्म तीन पटक अभियान सञ्चालन गरी बुस्टर डोजको खोप लगाइएको जनाइएको छ । बुस्टर डोज अन्तर्गत कोभिसिल्ड, भेरोसेल, मोडर्ना र एष्टाजेनेकाको खोप लगाएको छ ।

जिल्लामा हालसम्म७ सय ११ जनाले कोभिशिल्ड, ३ सय ९१ जनाले भेरोसेल, ८ हजार ५ सय ६६ जनाले एष्ट्राजेनेका र १ सय ७७ जनाले मोडर्ना खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाले जिल्लाको स्थानीय तहलाई खोप उपलब्ध गराउने गरेको छ । स्थानीय तहमार्फत पायक पर्ने खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिरहेको छ । अहिले साउन र भदौमा दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोजको खोप दिइरहेको चालिसेले बताए ।

कोभिड १९ विरुद्धको दोस्रो डोजको खोप लगाउन नागरिकले जति चासो दिए पनि अहिले बुस्टर डोज लगाउन कम चासो दिएको पाइएको चालिसेले बताए । दोस्रो खोप लगाउन जति चासोका साथ आएका थिए, अहिले बुस्टर डोजको खोप लगाउन त्यति चासो दिएको पाइएको छैन । ुस्वास्थ्य संस्थामा गएर लगाउने पहिला जस्तो चासो घटेको पाइएको छ, बुस्टर डोज लगाउने कम रहेको पाइयोु, उनले भने ।

कार्यालयले वैशाखमा गएको असोजमा दोस्रो खोप लगाएकालाई बुस्टर डोजको खोप दिने तयारी गरिरहेको जनाएको छ । जिल्लामा अहिले बुस्टर डोजको खोप लगाउन १० हजार डोज खोप रहेको जनाइएको छ । खोप लगाउन बाँकी रहेकालाई पुन अभियान सञ्चालन गरी खोप लगाइने स्वास्थ्य कार्यालय रसुवाले जनाइएको छ ।

जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाउन योग्य सबैले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाइरहेको बताइएको छ । ओमिक्रोनले ल्याएको तेस्रो लहरपछि रसुवामा कोभिड संक्रमणदर शून्यमा झरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *