आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौँ । झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१, नयाँवस्ती हो ।

पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् ।

रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै ।

अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो ।
२८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’

कतै लडिइन् कि भनेर उनीहरू सिधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देख्यो ?’

भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’ भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे ।

राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो ।

लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए ।

परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्‍यो । अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ ।

वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८/९ बजेतिर आमा चरिमाया गोठमा गाई/भैंसीलाई घाँस काट्न आएको देखे ।

आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को । भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’

यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *