सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

काठमाडौँ । नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु गरेको हो । एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले पनि सो अभियानको सुरुआत गरेको हो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् । एड्वानले विशेषगरी ग्रामीणस्तरका महिला र किशोर–किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ । वि.सं २०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँलगायतका जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

एड्वानका अध्यक्ष पम्फा परियार र महासचिव विन्दु परियारले राज्यको मूलधारबाट पछाडि परेका आर्थिकरूपमा विपन्न, दलित महिलालगायत अति सीमान्तकृत समुदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा सशक्त बनाउने एड्वानको उद्देश्य रहेको बताए । एड्वानका संस्थापक डा.विष्णुमाया परियारले आर्थिकरूपमा कमजोर समाजमा अत्यधिक मदिरा सेवन हुने र त्यही घरमा सबैभन्दा बढी महिला हिंसा भएको बताउँदै सोही समुदायलाई लक्ष्य गरेर अभियान सुरु गरिएको जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *