टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो ।

मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् ।त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे ।

बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १÷१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६ तथा विजय उन्नीले ३ रनको योगदान गरे ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनास बोहराले समान १÷१ विकेट झारे । अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *