पल शाहको निवेदन उच्च अदालतमा पहिलो सुनुवाई

काठमाडौँ । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाई भएको छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत तनहुँले धरौटीमा रिहाइको आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पोखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले थप अनुसन्धानको लागि पुर्पक्षमा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशबाट असन्तुष्ट भएको भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएको सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

निवेदन दिए पनि थपअनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएको थुनछेकको आदेश र आदेश जारी गर्दाको प्रतिलिपी, प्रमाण माग गरेको उनको भनाइ छ । तनहुँ अदालतको आदेशबारे निर्क्यौल गर्न पुनःबहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *