खानेपानी सुविधाले फेरियो दैनिकी

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ ।

खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र बाल्टीमा सार्वजनिक धाराबाट पानी ल्याउँदा हुने समयको बचत र दुःख हटेको बताए ।

“पहिले सार्वजनिक धाराबाट छिमेकमा पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो”, उनले भने, “आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौँ ।” बेनी नगरपालिकाको रु तीन लाख अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७७÷७८ मा लामगराका ३१ घरमा मिटर जडित निजी धारा निर्माण र पुरानो मुहान तथा वितरण प्रणाली सुधार गरिएको थियो ।

झाँत्रीथान, नर्सरी, जलकुनेको मुहानको पानीलाई एकीकृत गरेर स्थानीयवासीको थप रु तीन लाख बराबरको श्रमदान र लागत साझेदारीमा निजी धारा जडान पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हेमराज शर्माले बताए । “पाँच वटा सार्वजनिक धाराले घरघरमा पाइपबाट पानी लैजाँदा अभाव हुने गरेको थियो”, उनले भने, “निजी धारा र धेरै मुहानको पानी एकीकृत गरेपछि अहिले फालाफाल भएको छ ।” बेनी नगरपालिका–१ सालघारीकी सरस्वती किसानले निजी धारासहितको खानेपानी योजना निर्माण भएपछि दैनिकी सहज भएको बताए ।

“पहिला टाढा पुगेर, घण्टाँै पालो पर्खिएर पानी ल्याएर उपभोग गरेका थियौँ । फोहर हुन्थ्यो । सफा पानी खान पाइएको थिएन्”, उनले भने, “घरमै बनेको धारामा नियमित पानी आउन थालेपछि सुविधा भएको छ ।” बेनपा–१ का वडाध्यक्ष टेकबहादुर रावलका अनुसार दलित समुदायको बाहूल्यता रहेको सालधारीमा रु ११ लाख अनुदान सहयोगमा ६० घरमा निजी धारा निर्माण, पुरानो ट्याङ्की र वितरण प्रणालीलाई व्यवस्थित गरिएको थियो । त्यस्तै ६२२ घरधुरी रहेको रत्नेचौरका सबै बस्तीमा निजी धारासहितको खानेपानी सुविधा विस्तारका लागि आयोजना सञ्चालन गरिएको उनले बताए ।

सारेमारेका ३० र सिमका २७ वटा घरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भइसकेको छ । आनन्दबगरमा निजी धारासहितको खानेपानी योजना निर्माण गर्न चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन भएको छ । घरआँगनमा नै निजी धारा जडान गरेपछि खानेपानी प्रयोगमा मितव्ययिता अपनाएको सालघारीकी कुमारी किसानले बताए । मासिक रुपमा निश्चित शुल्क उठाएर खानेपानी आयोजना नियमित सञ्चालनका लागि कोष बनाएका छन् ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले दुई वर्षअघि सुरु गरेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाले गति लिनसकेको छैन् । प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । वि.सं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको निजी धारा निर्माण अन्तिम चरणमा पुगे पनि ट्याङ्की, इनार, मुख्य पाइपलाईन विस्तारमा ढिलासुस्ती भएको स्थानीयवासी कृष्ण बोगटीले बताए । उपभोक्ता समितिले गर्नुपर्ने काम भएपनि ठेकेदारले ढिलासुस्ती गरेको उनले बताए ।

सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटरमाथि सालघारीमा निर्माण हुने ११५ क्यूविक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८.७ किलोमिटर छ । रत्नेचौरमा वि.सं २०३५ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना जीर्ण र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन नसकेपछि नयाँ लिफ्ट प्रविधिको योजना सुरु गरिएको हो ।

बेनी–१ कै अर्को ठूलो बस्ती अर्जममा खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत निर्माणाधीन भकुण्डे, फापरखेत, अर्जम खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । वि.सं २०७२ देखि सुरु भएको यो आयोजनाको ट्याङ्की, मुख्य र वितरण लाइन, निजी धारा निर्माणको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सचिव छविलाल श्रेष्ठले बताए । अर्जमका १५० घरमा निजी धारा जडान गरेर चालु आर्थिक वर्ष भित्रनै खानेपानी वितरण गर्ने लक्ष्य रहेको उनले बताए । अर्जममा हाल सार्वजनिक धारामार्फत खानेपानी वितरण भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *