चौधरी फाउण्डेसनद्वारा एकीकृत बस्ती हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् ।

गिरानचौरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीले बस्तीको उद्घघाटन गर्दै निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध भएका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

फाउण्डेसनका अध्यक्ष चौधरीले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा आएको बताए । उनले भुकम्प पीडितलाई सुन्दरबस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताए । ‘हामीले भवन हस्तान्तरण गर्दमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौं, यहाँका बासिन्दाहरुको जीवनयापनलाई सहज बनाउन पनि लागीपरेका छौं’ चौधरीले भने, ‘एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रुपले सम्पन्न बनाउने योजना पनि बनाएका छौं ।

उनका अनुसार चौधरी फाउण्डेसनले स्थानीयबासीलाई सिएसइबी प्रविधिअनुसारका इट्टा उत्पादन गर्ने सिप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सिपहरु सिकाएर घर प्राप्तीपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुनसक्ने बनाएको छ । चौधरीले इट्टा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहनेगरि हस्तान्तरण गरेका छन् । मेसिन र तालिममा सिकेको सिपको व्यवसायिक प्रयोगगरि बस्तीका बासिन्दाले आर्थिक आयआर्जन गर्न सक्ने फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताए । उनले आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताए । नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कर्माश्री लामाले नयाँ प्रविधिमा बनेका चिटिक्कका घरमा बस्न पाउदा आफ्नो वर्षैको सपना पुरा भएको बताए । उनले बस्तीका चारसय जना निकै उत्साही भएको बताए । ‘मैले आफ्नो जीवनकालमा यति राम्रो घरमा बस्न पाउला भन्ने सचेको पनि थिइन’, स्थानीय ७६ वर्षे सिन्गी लामाले भने,चौधरी फाउण्डेसनले आफुलाई जीउदै स्वर्गको अनुभुति दिलाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *