मानिसमा मोतियाबिन्दुको प्रमुख कारण पोषण तत्व र उमेर हो

काठमाडौँ । आँखा रोग विशेषज्ञको क्षेत्रमा स्थापित नाम हो डा. सुलक्ष्मी कटवाल । पूर्वी पहाडी जिल्ला इलाममा जन्मिएकी कटवालको पढाइ लेखाइ र लालपालन भने काठमाडौंबाट सम्पन्न भयो । पढाइमा अब्बल उनी डाक्टरी अध्ययनको लागि रुस हानिइन् । रुसको सात वर्षे अध्ययनपछि नेपाल फर्किएकी उनले एमडी भने तीलगंगा आँखा अस्पतालबाट पुरा गरेकी हुन् । कटवालका श्रीमान पनि चिकित्सक नै छन् । आँखा रोगसँग केन्द्रित रहेर डा.सुलक्ष्मी कटवालसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

मोतियाबिन्दु के हो र कसरी हुन्छ ?
सरल भाषामा भन्नुपर्दा सिसामा कुनै रंग वा धुलोले छोपे कस्तो बन्छ ? हो त्यस्तै हो आँखाको मोतियाबिन्दु पनि । जसले आँखामा सेतो खत वा दाग लागेर (बादल जस्तो) नदेख्ने गरी छोप्छ । मोतियाबिन्दुको प्रमुख कारण उमेर हो । त्यसैले मोतियाबिन्दु जिरोमा झार्न गाह्रो जस्तै छ । कसैलाई जन्मजात पनि हुन्छ । यो बंशाणुगत पनि हुन्छ । चोट पटकका कारण, बिजुलीको झड्का लाग्दा, अल्ट्रा भाइलेट, पोषणतत्वको कमिको कारणले पनि मोतियाबिन्दु हुन्छ ।

लामो समयदेखि परिवारबाट टाढा बस्नुपर्दा नरमाइलो लाग्दैन ?
श्रीमान एक ठाउँ, छोरा अर्को ठाउँ र म पनि अर्कै ठाउँ बस्न लागेको धेरै भइ सक्यो । हामीबीचमा राम्रो सम्झदारी र सम्पर्क छ । अघिपछि भन्दापनि चाडपर्व र परिवारको कुनै सदस्य बिरामी हुँदा तनाब हुन्छ । जस्तो मेरो ससुरालाई ब्लड क्यान्सर थियो. । उहाँ आइसियूमा पुगेपछि मात्रै मेरो बिदा मिलेको थियो । मेरो बुवा र आमाको समयमा पनि त्यस्तै घटना भयो । उहाँहरु आइसियू र भेन्टिलेटरमा पुगेपछि नगई हुँदैन भन्ने भयो अनि बल्ल तल्ल बिदा मिलेको थियो । अर्कौ डाक्टर खोजेर मात्रै म निस्कन मिल्थ्यो । म त सात आठ महिनामा मात्रै घर जान पाउँछु । छोराको विद्यालय बिदा हुँदा आफन्तले म कहाँ ल्याइदिन्थे । स्टाफ काठमाडौं जाँदा उनैको साथमा लगाएर बच्चालाई काठमाडौं पठाउँथे । छुट्टीको समयमा म श्रीमान र छोरालाई दाङमै बोलाउँछु ।

डाक्टर त्यो पनि आँखा रोग विशेषज्ञ बन्ने प्रेरणा कहाँबाट मिल्यो ?
हामी पाँच जना दिदी बहिनी र तीन दाजु भाइ म सबैभन्दा कान्छी हुँ । मलाई आमाले ४५ बर्षको उमेरमा जन्माउनु भएको रहेछ । म पेटमा आएपछि आमाले ट्यिूमर हो कि क्या हो ? भनेर अस्पताल जचाउन जानु भएछ । डाक्टरले तपाईंको बच्चा छ । चिकित्सकले तपाईँको स्वास्थ्यका लागि यो नानी फाल्नु राम्रो हुन्छ भनेर सल्लाह दिएछन् । तर आमाले सास आइसक्यो, चल्न थालिसक्यो म फाल्न सक्दिन भनेर राख्नु भएछ । स्वास्थ्यका दृष्टिले डाक्टरको निगरानीमा बस्नुपर्ने भएकाले दार्जिलिङ गएकी हुँदा म उतै जन्मिएकी रे । त्यतिबेला कतिपय मलाई यो उमेरमा आमालाई झन्डै अप्ठेरोमा पारी भनेर कुरा काट्न थालेछन् । तर, मेरो हजुर आमाले कहाँ त्यसो हुनु यो नानी आँपूm पनि बाँचेर आइ र आमालाई पनि केही भएन । यो त लक्ष्मी हो भन्नु भए छ । अनि मेरो नाम लक्ष्मी राखिएको रहेछ । त्यही लक्ष्मी नाम अली साधारण भयो भनेर दाजु दिदीले लक्ष्मीको अगाडि ‘सु’ थपेर सुलक्ष्मी राखिदिए । त्यसपछि परिवारका सबै सदस्यले मलाई डाक्टर बनाउने भन्न थाले । मलाई पनि डाक्टर बन्ने चाहना पलायो ।

कक्षा ८ मा पढ्न थालेपछि डाक्टर बन्ने निधो पनि गरिहालेँ, अब म कुनै पनि हालतमा डाक्टर बन्छु’ भनेर । बाबु आमाको इच्छालाई मैले लक्ष्य बनाएर अगाडि बढें । त्यतिबेला नेपालमा मेडिकल कलेजहरु एकदमै कम थिए । भाग्यले साथ दियो । अध्ययनका लागि रुस जाने अवसर मिल्यो । सात बर्ष त्यहाँ पढेर नेपाल फर्किएँ । आउनासाथ बिहे भयो । बच्चा तीन बर्षको भएपछि मैले हैन म त एमडी पढ्छु भने र नाम निकालेर पढ्न सुरु गरे । बच्चा हुर्काउन सजिलो हुन्छ भनेर मैले तिलगंगामा मेडिकल अफिसरका रुपमा नाइट डिउटी ज्वाइन गरे । मैले एमबिबीएस पढ्दासम्म आँखा बिशेषज्ञ हुन्छु भनेर सोचेकै थिइँन । काम गर्ने क्रममा मलाई आँखाको बिज्ञ बन्ने चाहना जाग्यो । तिलगंगाबाटै मैले एमडी सिध्याएर आँखा रोग विज्ञ बन्न सफल भएँ ।

राप्ती आँखा अस्पतालमा सेवा थालेको कति भयो ?
मैले राप्ती आँखा अस्पताल दाङमा सेवा दिन थालेको १५ वर्ष भयो । यस बीचमा गाउँगाउँमा धेरै सिविरहरु सञ्चालन गरियो । त्यस सिलसिलामा गाउँ डुल्दा रमाइलो हुन्थ्यो । उकाली ओराली, भञ्ज्याङ, चौतारीतिर पैदल यात्रा गर्दा केही थकान भए तापनि खाना मीठो हुन्थ्यो । म शहरमा हुर्किबढी गरेको भएपनि गाउँका मानिसको सेवा गर्न पाउँदा रमाइलो लाग्दथ्यो । गाउँका मानिसहरु मीठो बोलीवचत, मिजासिला स्वाभावका हुन्थ्ये । त्यसले समय बितेको पत्तै भएन ।

लामो समय एउटै अस्पतालमा सेवा दिइ रहँदा दिक्क लाग्दैन ?
सर्त अनुसार म पाँच बर्ष अनिवार्य बस्नुपर्ने नै थियो । नत्र भने मैले तीन गुणा बढी तिर्नुपथ्र्यो । पाँच बर्ष पुरा गरेपछि मैले चाहे जहाँ जान पनि पाउँथे । पढेकै सेवा दिनका लागि हो भने किन अर्को ठाउँमा गएर एक बर्ष नयाँ हुने यही गर्छु भन्ने भयो । त्यसमा पनि नेत्रज्योति संघका पदाधिकारी, स्थानीय र बिरामीले गरेको विश्वास तथा मायाले मलाई यही बसेर सेवा गरिरहन हौंस्यायो । फेरि यताउता भौंतारिनु भन्दा एकै ठाउँमा काम गर्दा परिणाम पनि राम्रो देखिन्छ ।

यस क्षेत्रमा आँखा रोगको समस्या कस्तो देख्नुहुन्छ ?
सन् १९८१ मा भएको सर्भे अनुसार राप्तीमा एक हजार जना मध्ये नौं जनामा अन्धोपना थियो । सन २०१० को सर्भेले त्यो अन्धोपना शून्य दशमलब १३ प्रतिशतमा झारेको देखायो । त्यो नै हाम्रो मेहेनतको फल थियो । चश्मा लगाउने रोग जसलाई दृष्टिदोष भनिन्छ । त्यसपछि मोतियाबिन्दु पनि उत्तिकै छ । हामीले आज उपचारात्मक, रोकथामात्मक, सचेतनात्मक कार्यक्रम र शैक्षिक गतिविधि पनि सुरु गरि रहेका छौं । नयाँ रोगमा चिनी रोगले गर्दा आँखाको सम्बेदनशील तह रेटिना खराब हुने समस्या धेरैमा देखिन थालेको छ । जलबिन्दु अर्थात् आँखामा प्रेसर बढेर हुने रोगपनि ब्यापक छ । प्रेशर बढेपछि नयाँहरु थिचिन्छन र रक्तसञ्चार हुन पाउँदैन, अक्सिजन पनि पाउँदैन र त्यहाँको टिस्यूहरु मर्दै जान्छन् । त्यसरी एक पटक ड्यामेज भएपछि सदाको लागि दृष्टि गुम्न सक्छ । कोभिड–१९ का कारण त्यस्ता बिरामी ठूलो समस्यामा परे ।

आँखाको उपचार र शल्यक्रियाका लागि वर्षमा कतिजना आउँछन् ?
राप्ती आँखा अस्पताल, लमही र बहादुरगञ्जमा गरि बार्षिक १२ हजार जतिको मोतियाबिन्दुको हामी शल्यक्रिया गर्छौं । त्यो बाहेक ओपिडी सेवा लगभग दुई लाख बढीले पाउँछन् । राप्ती आँखा अस्पतालमा बर्षाको समयमा धेरै आँखाका बिरामी उपचारका लागि आउँछन् भने बहादुरगञ्जमा पुस माघमा धेरै बिरामी आउने गरेको मैले पाएकी छु । बर्षामा आँखा पाक्ने, चिलाउने जस्ता सरुवा रोगहरुको संक्रमण ह्वात्तै बढेर जानेहुँदा तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा मात्रै दैनिक ६÷७ उपचारका लागि आउने गर्छन भने बहादुरगञ्जमा जाडोयाममा मोतियाबिन्दुको उपचार गराउने धेरै आउँछन् ।

अहिलेको तुलनामा दस वर्ष पहिला आँखा रोगमा कस्तो परिवर्तन पाउनुहुन्छ ?
मैले यो अवधिलाई तुलना गर्दा धेरै फरक पाउँछु । सायद त्यो कुराको अनुभव आसपासका नागरिक र सेवाग्राहीले पनि अनुभूति गर्नु भएको होला । त्यतिखेर हामीले सामान्ने रुपमा मोतियाबिन्दुको मात्रै शल्यक्रिया गर्ने गर्दथ्यौं । अहिले निकै एडभान्स टाइपको फेको प्रबृधिबाट उपचार गरिन्छ । आँखाको ६ एमएमसम्मको सेतो दाग काटेर गर्नुपर्ने उपचार आज लगभग आधा सानो भाग काटेर उपचार गरिन्छ । फेको प्रबृधिबाट भित्रै लेजर पठाएर कुटुकुटु गरेर दाग भित्रै नष्ट गरिन्छ र लेन्स हाल्ने समयमा पनि फोल्ड गरेर राखेर भित्र अनफोल्ड गरि सेन्टरमा राखेर मिलाउने गरिन्छ । अहिले आँखाको पनि भिडियो एक्सरे (स्क्यान) गरिन्छ । मोतियाबिन्दुको अप्रेसन गरेपछि बिरामीको नजर आउने संभावना कति छ त ? भनेर पत्ता लगाउन सकिन्छ । अहिले हाम्रो अस्पतालहरुमा बिज्ञ डाक्टर मात्रै हैन धेरै उच्चस्तरिय उपकरण पनि उपलब्ध छन् । सुरुमा गर्दाखेरी हामीले मोतियाबिन्दुको लेन्सपनि जाँच गर्दैन थियौं । आज हामी क्याम्पहरु गर्दापनि अनिवार्य रुपमा लेन्सपनि जाँच गर्छौं । हामी भाग्य मानी हौं, त्यतिखेर कति अप्रेसन गरियो न एचआइभी न त हेपाटाइटिसको नै चेकजाँच हुन्थ्यो । तर आज ती सबै अनिवार्य हुन्छ ।

आँखाको समस्या महिला र पुरुष कसमा बढी पाउनुहुन्छ ? र किन ?
सबै रिपोर्टहरु नियाल्दा महिलालाई नै बढी आँखामा समस्या देखिएको छ । ४० बर्षदेखि माथिका महिलालाई बढी आँखाको समस्या देखिन्छ । त्यसको कारण ठ्याक्कै कतै नलेखिएपनि मेरो बुझाईमा पोषणतत्वको कमिले गर्दापनि होकि भन्ने लाग्छ । शहर बजारको कुरा भन्दा गाउँ घरमा अझैंपनि सबैलाई खाना खुवाएर मात्रै महिलाले खाने प्रचलन छ । सासु ससुरा श्रीमान छोरा छोरीलाई खुवाएर लाष्टमा खाने हुँदा त्यो भाँडोमा कति खाना बचेको हुन्छ ? भनेर कस्ले हेर्छ ? महिला जति छ त्यसैमा चित्त बुझाउन बाध्य हुन्छन् । आफ्नो मुखको गाँस निकालेर छोरा छोरीलाई खुवाइ राखेको हुन्छ भने उनीहरुलाई कसरी आवश्यक पोषण तत्व पुगेको हुन्छ ? अर्कौ कारण बंशाणुगतपनि हो कि ? किन भने महिला वा छोरी बनाउने जीन (क्रोमोजोम) संगपनि यो सम्बन्धित छ कि जस्तो लाग्छ । त्यस्तै गाउँ घरमा आजपनि धुलो, धुँवा युक्त किचेनमा काम गर्नुपर्ने भएरपनि महिलामा आँखाको समस्या बढी भएको हुनुपर्छ भन्ने मेरा अड्कलबाजीहरु हुन ।

तपाईंको अस्पतालले सामना गर्नुपरेका समस्या के के छन् ?
जति अगाडि बढ्न खोज्यो चुनौति त्यति धेरै निस्कदा रहेछन् । कसरी हुन्छ राम्रो अस्पताल बनाउँ, राम्रो सेवा सुबिधाहरु दिन सकौं र यहाँका जनाता आँखा उपचारका लागि बाहिर जान नपरोस भनेर हामी लागि परेका छौं । अब त्यस्तोमा संधैभरि दाताको सहयोगले मात्रै पुग्दो रहेन छ । आँफैमा आत्मनिर्भर हुने उपायको खोजी हुन आवश्यक छ । केही नगरी बस्या भने त चुनौति नै हुँदैन नि । घोडा चढ्ने ब्यक्ति लड्छ भने झै यस्ता कामहरु गर्दा चुनौति आइलाग्छन् । ठिकै छ जति आका छन् त्यतिलाई सेवा गरौं भनेर चुप्प लागेर बस्यो भने चुनौति हुँदैन । जति गर्न खोज्यो उति चुनौति आउँदो रहेछ । तर इमान्दार भए सामना गरेर अगाडि बढ्न सकिन्छ ।

आवश्यक भौतिक पूर्वाधार निर्माण, उपचारका लागि आधुनिक उपकरणको ब्याकअप नहुनु जस्ता समस्याहरु छन् । र त्यस्तो बेलामा हामी एउटा बिग्रदा अर्कौ अर्थात तीन वटै अस्पतालका उपकरणहरु उता उता सारेर भएपनि सेवा दिन्छौं । नौं दिन नौंलो र २० दिन भए बिर्सियो भने जस्तै दक्ष डाक्टर भएपनि आवश्यक उपकरणको प्रयोग गर्न नपाउँदा जानेको ज्ञान सीप बिर्सदै जान सक्छ । त्यो भनेको तालिम प्राप्त सेनालाई हतियार नदिनु जस्तै हो । प्राप्त सहयोगबाट योजनासहित यो बर्ष यो किन्न र अर्कौ बर्ष अर्कौ किन्ने भनेर सामान खरिद तथा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । धेरैले दुःख गर्नु भएको छ र धेरैको मेहनतले अस्पताल राम्रो भएको छ । बाहिर गएर हामीले एउटा बिरामीपनि हेर्दैनौं र दुई रुपैंयापनि लिन पाउँदै नौं । सबै यही मात्रै हो । त्यसैले हामी र सेवाग्राही बीच बलियो भावनात्मक संबन्ध स्थापित छ ।

पछिल्लो समय मोबाइल, ल्यापटपको बढी प्रयोगले बच्चाहरुको आँखामा बढी समस्या देखिएको हो ?
ब्राइट लाइटबाट निस्कने एक किसिमको रेडिएसनले बच्चा होस वा ठूलो मान्छे सबैलाई आइसिन्ड्रोममा असर गर्छ । लकडाउनको समयमा अनलाइन कक्षाहरु सञ्चालन हुँदा त्यसले धेरै बच्चालाई समस्यामा पारेको छ । धेरै बच्चाको आँखा ड्राइ भएको फिल गरेका छन् । पहिले नै आँखा ड्राई वा सुख्खा हुने समस्या भएकालाई झनै त्यसले समस्यामा पार्छ । लगातार मोवाईल, टिभी वा ल्यापटपहरु हेरिरहँदा समस्या हुन्छ । गेम खेल्नेहरु झनै आँखा नझिम्क्याइ हेरि रहन्छन् । जबकी हामीले एक मिनेटमा १७÷१८ पटक अनिवार्य रुपमा आँखा झिमिक्क पार्नु पर्ने हो । आँखा झिमझिम पार्नु भनेको नक्कल पार्नु होइन त्यसले आँखालाई ओसिलो बनाउन ठूलो भूमिका खेलिरहेको हुन्छ ।

आँखाको ग्रन्थीबाट निस्किएको पानी आँखा झिम्काउँदा बिभिन्न भागमा पुग्न मद्दत गर्छ । यस्तो समस्याबाट जोगिन पहिलो कुरा त्यसको बिकल्प खोज्ने, एकदम कम प्रयोग गर्ने,प्रयोग नगरी नहुने बाध्यात्मक अवस्थामा मात्रै प्रयोग गर्ने र त्यसमा पनि प्रोटेक्टिभ बिधि अपनाउने वा ग्लास लगाउने गर्नु राम्रो हो ।

स्थानीयबाट कत्तिको स्यावासी पाउनु भएको छ ?
समाजमा धेरै प्रकारका मानिस हुन्छन् । पोजेटिभ र नेगेटिभ दबुै कुरा आएपनि पोजेटिभ नै बढी पाउँछु । तर, सामन्य मानिसहरु अस्पताल स्थापना हुँदा धेरै खुसी छन् । यो अस्पताल भएकाले घर–आँगनमै उपचार पायौं भनेर खुसी साट्छन् । सुरुमा महिला उपचारका लागि आउँदा यहाँ त सबै जना लेडिज मात्रै ? भनेर आश्चर्य मान्थे । त्यो विश्वास नगरेर हो वा खुसी ब्यक्त गरेको हो ? भन्ने लाग्थो । तर, आज सबैले निकै विश्वास गर्नुहुन्छ । धेरैजसो बिरामी मंैसंग आँखा जचाउँन र अप्रेसन गराउन लाइनमा बसेको पाउँछु । कोही मेरो नाम लिएर र कोही जात मात्रै लिएर पनि पर्खि बस्नुभएको हुन्छ ।

विपन्न समुदायका लागि निःशुल्क सेवाहरु के/कस्ता छन् ?
नेपालमा सबै भन्दा बढी निःशुल्क सेवा प्रदान गर्ने एउटा मात्रै अस्पताल हाम्रै अस्पताल हो भन्ने लाग्छ । हामीले आँफैमा सक्षम नभएपनि अरुको गुहार मागेर सहयोग मागेर ठाउँ ठाउँमा शिविरहरु चलाउँछौं । हामीले अहिले तुलसीपुर उपमहानगरपालिकासंग मोतिया बिन्दुको लागि सम्झौंता गरेका छौं । त्यस्तै वडा नं. १९ संगपनि संझौंता भएको छ । हामीलाई प्राप्त सहयोगका आधारमा वडाका सबैको निशुल्क आँखा जाँच र उपचार गर्छौं। नर्बेको आइकियर भन्ने संस्थाले पनि त्यस्तै सहयोग दिइ रहेको छ । अहिले त नेपाल सरकारको पनि धेरै कोटाहरु पाउन थालिएको छ । कहिले काँही सरकारी र बिदेशी दुबै कोटा सक्किएको समयमा सामाजिक सेवा भावले ब्यक्ति बिशेषले जन्मउत्सब, बैबाहिक समारोह, पुन्यतिति जस्ता अवसरहरुमा पनि दृष्टि दान (आर्थिक सहयोग) गर्नु भएको छ । त्यसले पनि सजिलो बनाउँछ । यी मध्ये कुनैपनि फेला नपरेको समयमा अस्पतालको पोर फन्डले काम गर्छ । तर, त्यसमा पेपर वर्क अली बेसी हुँदा झन्झटिलो छ । जेहोस मैले भन्नु पर्दा पैंसा नभएर फर्किएको कोही पनि बिरामी छैन ।

सेवा अवधिमा के/कस्ता चुनौतिको सामना गर्नुपर्यो ?
मैले अहिले सम्म कुनैपनि त्यस्तो नराम्रो कुरा फेस गर्नु परेको छैन । त्यस्तो भइदिएको भए म यति लामो समय यहाँ रहन सक्ने नै थिएन । हामीले बाहिर गएर बिरामी नजाँच्ने हुँदा बिरामीले हाम्रो पर्सनल बेनिफिट उनीहरुले फिल नै गर्न पाउँदैनन् । बाहिर कसैलाई सिफारिस गर्दा एउटा चश्माबाट दूई सय आउँछ भन्नेपनि छैन । अरु अस्पतालमा जस्तो आज हेर्नलाई डेट मिल्दैन भनेर टार्ने र बाहिर क्लिनिकमा हामी जाँदै जाँदैनौं । त्यसले गर्दा बिरामीले हामीलाई धेरै विश्वास गर्नु हुन्छ ।

अन्य चिकित्सक र आँखाका चिकित्सकमा के फरक छ ?
इमान्दारीपूर्वक सेवा भावले गर्ने हो भने सबै क्षेत्रका डाक्टरको काम उस्तै उस्तै हो । तर, हाम्रोमा तुरुन्तै परिनाम देखिन्छ । अप्रेसन शिद्धिनासाथ जब मानिसले नयाँ ज्योति पाउँछन् त्यो बेला उनीहरुले ब्यक्त गर्ने खुसीको बर्णन शब्दमा गर्न संभव हुँदैन । त्यतिखेर उनीहरु डाक्टरलाई भगवानको दर्जा दिन्छन्, सम्मान गर्छन, अंगालो हाल्छन् , हामीलाई धन्यबाद दिन्छन् । त्यतिखेर मैले आँखा विज्ञको क्षेत्रमा काम गर्ने भएर एक दमै ठिक गरेकी रहेछु भन्ने लाग्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.