पशुपालनबाट राम्रै आम्दानी गर्दै अपाङ्गता भएकी दरै

काठमाडौँ । “एउटा पनि बाख्रा किन्ने हैसियत थिएन्”, व्यास नगरपालिका–१ खकौली निवासी ४० वर्षीय श्रीमाया दरै भनिन्, “भगवान् प्रकट भए झै लाग्छ । अपाङ्गता भएका व्यक्तिका लागि अधिकार र विकासको लागि स्रोत केन्द्र (रिसेड) ले सानै रकम भए पनि सहयोग गरेपछि आफू आयआर्जनतर्फ लागेको हुँ ।”

स्थानीय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउन उक्त संस्थाले सानै रकम भए पनि सहयोग गरेपछि उनीहरु व्यावसायिकरुपमा कृषि र पशुपालन क्षेत्रमा लागेर आम्दानी गर्न थालेका छन् । श्रीमायाका श्रीमान् कुलबहादुर पनि अपाङ्गता भएका व्यक्ति छन् उनिहरुका एक छोरा कक्षा ९ मा अध्ययनरत छन् । दुई वर्षअघि रिसेड संस्थाले रु पाँच हजार अनुदान सहयोग दिएपछि रु दुई हजार आफूले थपेर एउटा बङ्गुरको पाठा पालेको श्रीमायाले बताइन् । करिब एक वर्ष पालेको बङ्गुर ४५ धार्नी हुँदा रु ४५ हजार कमाइएको उनले जानकारी दिएकी छन् ।

बङगुर बिक्री गरेपछि पुनःश्रीमायाले साढे सात हजारमा अर्को बङ्गुरको पाठा ल्याएर पालिन । बङ्गुर बिक्रीबाट आएको रकमले बाख्राको खोर निर्माण गरी एउटा बाख्रा ल्याएर पाल्न थाल्नु भएकी उनको खोरमा हाल नौ वटा बाख्रा रहेका र अहिले तिनको मूल्य रु एक लाख बीस हजार बराबर रहेको बताइएको छ ।

करिब रु ५० हजार बराबरको तीन वटा खसीबोका बिक्री गरिएको श्रीमायाले बताए । हिँडडुल गर्ने समयमा एउटा खुट्टा सुकेर अपाङ्गता बन्नुभएकी उनले व्यावसायिक रुपमा बाख्रापालन कार्यलाई अघि बढाउँदै आएकी हुन् ।

उक्त संस्थाले गत चैत महिनामा पुनः रु सात हजार अनुदान सहयोग गरेपछि एउटा बाख्रा थपिएको थियो । जिल्लाको म्याग्देमा पाँच, शुक्लागण्डकीमा तीन, ऋषिङ, बन्दिपुर र घिरीङमा दुई÷दुई र भिमाद, भानु, देवघाट र आँबुखैरेनीमा एक÷एकजना गरी १८ जनालाई आर्थिक सहयोग गरिएकोे रिसेडका अध्यक्ष पदमबहादुर परियारले बताइन् । नगरपालिकालाई रु सात हजार र गाउँपालिका अपाङ्गतालाई रु पाँच हजारका दरले उक्त संस्थाले अनुदानमा सहयोग दिएको थियो ।

त्यसैगरी व्यासनगरपालिकाका चौध वटा वडामा २७ जनालाई रु सात हजारका दरले अनुदान रकम वितरण गरिएको पनि उनले जानकारी दिएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *