प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

काठमाडौँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएकोे छ ।
वि.सं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरपछि कामलाई तीव्रता दिन थालिएको हो ।

गत चैत १० गते आठौँ तनहुँ महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गरेका हुन् । शिलान्यास गरिएको एक वर्ष बित्दा पनि कामले गति लिन नसकेकामा प्रधानमन्त्रीको अवलोकन पछि निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र १० मिटर चौडा उक्त पुलको निर्माण अघि बढाइएको हो । पुलको एकातिरको बीस वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताए । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

त्यसैगरी दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरी परेकामा पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै यात्रा गर्न सकिनेछ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजाराँैं मानिस लाभान्वित हुने विश्वास गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ सम्म उक्त पुलको निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि पौडेलले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *