नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदै- स्थानीयवासी खुसीयालीमा

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्नुभएपछि सो रेल सेवा नियमित रुपमा सुरु हुनेछ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ ।

रेल उद्घाटनका लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ । दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न एलसिडी टिभी लगाइएको छ भने टेन्ट पण्डालसहित अन्य सरसजावट गरिएको छ । उद्घाटनका सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए ।

उनका अनुसार उद्घाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिनेछन् । प्रधानमन्त्री द्वयले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीले पनि झण्डा हल्लाउने छन् र जयनगरबाट जनकपुरको लागि रेल गुड्नेछ । रेल प्रत्येक स्टेशनमा केही समयको लागि रोकिँदै जनकपुरसम्म आइपुग्ने छ ।

महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए । उनले भने, “यस कार्यक्रमलाई केन्द्रित गर्दै सङ्घीय सरकारकी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसमेत जनकपुर आइपुग्नु भएको छ । जनकपुर रेल्वे स्टेशनमा रेल आइपुगेपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने र कुर्थाबाट फर्किने बेला फेरि जनकपुर स्टेशनमा ओर्लिनु हुने र त्यहाँ केहीबेरको कार्यक्रम पश्चात् रेल जयनगर फर्किने छ ।”

आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ । शनिवारदेखि सुरु हुन लागेको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि रु ९० र वातावरण अनुकूलित ९एसि० सिट सुविधातर्फ रु ४५० टिकट कायम गरिएको छ ।

जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसिमा ३७० कायम गरिएको छ । लामो समय पश्चात् रेल्वे चल्ने भएपछि स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली छाएको छ । आज विहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भीडभाड देखिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिएका छन् । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो ।

नेपालमा राणाकालमै वि.सं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा वि.सं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । वि.सं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।

जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *