छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने

काठमाडौँ । बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताए ।

प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० धिमे खलः तथा पुचः को सहभागिता रहने जनाउँदै उनले एउटा खलः तथा पुचःबाट बढीमा दुई टोलीसम्मले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको बताएका छन् ।

एउटा टोलीमा धिमे दुई, भुस्या दुई र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँचजना वाद्यवादकको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धीलाई पाँच मिनेटको समय दिइने उहाँले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा ओस्ला नेपालका उपाध्यक्ष एवं संयोजक सुशील जोशीले प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजारसहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र तथा दुई टोलीलाई सान्त्वना पुरस्कारस्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिएका छन् ।

ओस्लाका सचिव रोशन बज्राचार्यले प्रतियोगिताका साथै लोपोन्मुख अवस्थामा पुगेको हरेक जात्रा एवं पर्वमा बजाउनै पर्ने नायोखिं बाजा प्रशिक्षणसमेत सञ्चालन गरिने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाको संरक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको बताए । नायखिँ बाजा निश्चित एक जापिले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परा नै लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले यो बाजा र परम्पराको संरक्षणका लागि अरू जाति र विविधता ल्याएर बाजाको प्रशिक्षण गर्न लागेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *