लिंकन युनिभर्सिटीअन्तर्गतका ११ ओटा कलेजहरूको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज मलेसियाअन्तर्गतका एघार वटा कलेजहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा चैत्र १९ गते शनिवार सम्पन्न समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरू दीक्षित भएका थिए ।
समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वदेशका कलेजहरूले नै नयाँ विषयहरूको पठनपाठन शुरूवात गरेमा उच्च शिक्षाका लागी नेपाली विद्यार्थीहरू विदेश धाउन नपर्ने बताए । स्वदेशी विद्यार्थीहरूले नेपालका कलेजहरूमा उच्च शिक्षा लिन सक्ने गरी आवश्यक वातावरण मिलाउन उनले कलेज सञ्चालकहरूलाई आग्रह गरेका छन् ।

स्वागत मन्तव्य व्यक्त गर्दै लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान)का अध्यक्ष रेश्ता झाले लिंकन युनिभर्सिटीमा आबद्ध कलेजहरूले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रियस्तरको शिक्षाका विशेषता बारे प्रकाश पारेका छन् ।

लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्राध्यापक डाक्टर अमिया भौमिकको सभापतित्वमा भएको समारोहमा कलेजका प्रो चान्सलर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए ।

धन्यवाद ज्ञापन गर्दै लुकानका महासचिव लक्ष्मण पोखेरेलले लिंकन युनिभर्सिटी मातहतका कलेजहरूले समय सापेक्ष गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता दिने बताउनुभयो । समारोहमा दीक्षित विद्यार्थीहरूले आ—आफ्नो अनुभव सुनाउँदै स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा पाएर गौरवान्वित भएको बताए ।

लिंकन युनिभर्सिटी कलेज अन्तर्गत एकेडेमी अफ कलिनरी आर्ट हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, टेक्सस् कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, आईआईएमएस लिंकन इन्टरनेशनल कलेज, के। एफ। ए विजनेस स्कुल एण्ड आइटी, वेष्टन मेगा कलेज, नेपाल विजनेस कलेज, एन् सी एम टी कलेज, पोखरा लिंकन इन्टरनेशनल कलेज, ग्रिन पिस लिंकन कलेज, बाल्मिकी लिंकन कलेज सञ्चालित छन् । समारोहमा व्याचलर तथा मार्टर्स दुवै सेमेष्टरका विद्यार्थीहरू दीक्षित भएका हुन् । कार्यक्रममा दिपक बज्राचार्यको व्यान्ड ‘रिदम’ ले साङ्गीतिक प्रस्तुति दिएको थियो । लिंकन युनिभर्सिटी कलेज हाल गुणस्तरीय शिक्षाका लागि विश्वमै ३५औं स्थानमा रहेको छ ।

हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका शैक्षिक पाठ्क्रमहरू संचालन गरिरहेको लुक्यानका कोषाध्यक्ष सविन्द्र महर्जनले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *