अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन् । उनले आज उक्त दलको केन्द्रीय कार्यालय रविभवन पुगेर पदभार ग्रहण गरेका हुन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गते गुरुङलाई अध्यक्षमा मनोनीत गरेका थिए ।

अध्यक्ष जीतजङ्ग बस्नेत कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसङ्घ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष थिए । पदभारपछि अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई जिताउनका लागि देशभर तरुण दलका युवालाई परिचालन गर्ने बताएका छन् । तरुण दलका यसअघि रहेका सबै निकाय यथावत रहने उनको भनाइ थियो ।
पूर्व अध्यक्ष बस्नेतले विगतका दिनभन्दा पनि बलियो तरुण दल बनाएर अगाडि बढाउन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

अर्का पूर्वअध्यक्ष उदयशमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.