‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि दुई विद्यालय छनोट

काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन् ।

छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ । यी दुवै विद्यालयमा प्राविधिकतर्फको कृषि र पशुपालनको पढाइ हुने गरेको छ । पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै जालपाका प्रधानाध्यापक उत्तम मल्लले व्यावहारिक रुपमा कार्यक्रम कार्यान्वयन गरिने बताए । उनले भने, “विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न कार्यक्रमले सघाउने अपेक्षा गरेका छौँ । यस कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई पढ्न र सिक्नका लागि थप हौसला मिल्ने भएको छ ।”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेमा त्यहाँकोे निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको हो । कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ । छनोटमा परेका विद्यालयलाई ससर्त अनुदानअन्तर्गतको अनुदान रकम स्थानीय तहमार्फत विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । ‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लिखित प्रक्रियाबमोजिम विद्यालयका लागि दुई किस्तामा बजेट उपलब्ध गराउने व्यवस्था गरिएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *