गाउँमा पहिलोपटक बस पुग्दा हर्षबढाइँ

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस पुगेको हो । पहिलोपटक पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको डोजरका चालक पुस्कर खड्कालाई अबिर, फूलमाला लगाएर स्वागत गरेका स्थानीयवासी ईश्वर सुवेदीले जानकारी दिएका छन् ।

यसैगरी नौमती बाजामा नाचगान गरेर खुसीयाली मनाएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडकको उद्घाटन गर्दै बुलमा सडक र विद्युत् पु¥याउने प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गरेका छन् । वडाध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख ५० हजार र प्रदेश सांसद नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाख बजेटबाट बुलमा सडक पुर्याइएको बताएका छन् ।

छदेखि सात मिटर फराकिलो सडकको मार्ग निर्माणको काम चैत पहिलो हप्ता सकिएको थियो । “वि.सं २०७४ अघि यस वडाको कुनै पनि बस्तीमा सडक यातायातको सुविधा थिएन”, वडाध्यक्ष सुवेदीले भने, “बुलसँगै साविक मराङ गाविसको नौवटै वडा सडक सञ्जालमा जोडिएका छन् ।”

बुल सडक निर्माण समितिका अध्यक्ष नरबहादुर जुग्जालीले सडक निर्माण भएपछि बुल र मलम्पारका २०० घरधुरी लाभान्वित भएका बताए । “बेँसीबाट पैदल हिँडेर बुल पुग्न दुई घण्टा ३० मिनेट उकालो हिँड्नुपर्दथ्यो । ज्येष्ठ नागरिकलाई पूरै दिन लाग्दथ्यो”, उनले भने, “सडक आएपछि यात्रा अवधि ३० मिनेटमा छोटिएको छ ।”

स्थानीयवासीलाई आवतजावत, बिरामीलाई समयमै अस्पताल पुर्याउन, कृषि तथा पशुजन्य वस्तु निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको जुग्जालीले बताए । सडक सुविधासँगै बसाइँसराइ रोकिने र गाउँ छाडेर गएकाहरू जन्मथलो फर्कने विश्वास गरिएको छ । सत्तरी घर भएको बुलका ४० घरमा मात्र हाल बसोबास छ ।

यस वर्ष गाउँपालिकाको बजेटले एक हजार ४०० मिटर र प्रदेश सरकारको बजेटले एक हजार ७० मिटर सडकको मार्ग खोल्ने लागत अनुमान भए पनि करिब तीन किलोमिटर मार्ग खोलिएको गाउँपालिकाका प्राविधिक जनक धानुकले बताएका छन् । उनका अनुसार बेँशीबाट बुलसम्म सडकको दूरी करिब १२ किलोमिटर छ ।

यो सडक निर्माणमा उपभोक्ता समितिबाहेक सरकारको मात्र रु एक करोड पाँच लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५र७६ मा बेँसीबाट मराङ स्वास्थ्यचौकीको भवनसम्म गाउँपालिकाको रु ३८ लाखमा तीन किलोमिटर मार्ग खोलिएको थियो । आव २०७६र७७ मा स्वास्थ्यचौकीको भवनबाट राम्चेसम्म गाउँपालिकाको रु २५ लाख र प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १५ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

आव २०७७र७८ मा राम्चेबाट घामताप्नासम्म गाउँपालिकाको रु १० लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमको रु १७ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *