नेपाल लाइफको प्रस्तावित लाभांश पारित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको २१औं वार्षिक साधारणसभाले प्रस्तावित १४.०७४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, शेयरधनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७४ प्रतिशत नगद लाभांश पाउनेछन् । यससँगै, प्रस्तावित बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन जीवन बीमा क्षेत्रकै सर्वाधिक चुक्ता पुँजी हो ।

सभामा अध्यक्ष गोविन्दलाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए । साथै, २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि आगामी दिनहरुमा अगाडि बढ्ने अध्यक्ष संघईले प्रतिवद्धता गरेका छन् । सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए ।

त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी गराए ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट चार जना संचालकमा निर्विरोध निर्वाचित गरेको छ । जसमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । त्यस्तै, साधारणसभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नवनिर्वाचित संचालक गोविन्दलाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । हाल कम्पनीको लगानी १ अर्ब ३३ खर्ब रुपैयाँ रहेको छ भने जीवनबीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । त्यस्तै, कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । साथै, ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *