खोला तरेर लौरो बिर्सन हुँदैन : गृहमन्त्री खाँड

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखेका थिए ।

“राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हँुदैन्”, मन्त्री खाँडले भने, “नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो ।” गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उनले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराएका छन् ।

“गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौँ”, मन्त्री खाँडले भने, “नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।” संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उहाँले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका थिए । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो ।

यसैगरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताए । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उनलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् ।

मन्त्री खाँडलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *