श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

“अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ”, उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।”

नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो । “हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हेर्यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन् त्यसको तपाईं हामी सबै मिलेर खण्डन गर्नुपर्छ”, उनले भने ।

श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरेका छन् । “हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायत विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि बहस गरौँ”, उनले भने ।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायत कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताएका छन् । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरूपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो । “प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ”, उनले भने ।

अर्थतन्त्र यतिबेला दबाबमा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाइ थियो । मुलुकभित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुकभित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सिर्जना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीबाट विप्रेषण प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिएका थिए । कोभिड–१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *