आज राष्ट्रिय सभागृह काठमाडौबाट कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पु¥याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।” उहाँले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पार्नुभयो । कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्छ भन्नुभयो । उहाँले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल गर्नुभयो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रको विकाससँगै विकसित मुलुकको रूपमा देशलाई अगाडि बढाउनका निम्ति पनि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्नेमा जोड दिनुभयो । नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *