‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा’

काठमाडौ । चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो भन्छन् बागलुङको इतिहास बुझेका बूढापाका । यो वर्ष पनि चैते दसैँका अवसरमा बागलुङमा मेला लागेको छ । त्यही मेला हेर्नेको बागलुङ कालिका मन्दिर परिसरमा भीड लागेको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन । यो वर्ष भने सङ्क्रमण नभएको मौका परेकाले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैँ मेला आयोजना गरेको छ । कोरोना महामारीका कारण मन्दिरमा पूजापाठ नै बन्द भएकाले मेला नलागेको हो । यदि मन्दिरमा पूजापाठ हुँदो हो त आयोजना नभए पनि मेला लाग्थ्यो । चैते दसैँ मेला धार्मिक महत्वको मात्र नभई गीतसङ्गीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वका रुपमा स्थापित भएको गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले बताउनुभयो । चैते दसैँमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामग्री समेतको बजारीकरण गर्ने पर्वका रुपमा समेत वर्षौंदेखि मनाइने पर्व हो । चैते दसैँ मेला कालिका मन्दिरमा लाग्छ । दुर्गा तिथिमा लाग्ने मेलालाई चैते दसैँका रुपमा मनाइन्छ । यो बेला टाढाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउने धेरै हुन्छन् । साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सीपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ । समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनको बजार लागेको छ । कालिका मन्दिर परिसरमा तीन चार दिनदेखि नै मेलाझैँ बनिरहेको छ । साथै चैतेदसैँको अवसरमा अष्टमी र रामनवमीमा यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १७ टोली दर्ता भएका छन् । बिहीबारदेखि नै खेल पनि सुरु भएका छन् । त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारको प्रस्तुति रहने गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो । कोरोनाका कारण गत वर्ष मेला सञ्चालन भएको थिएन । चैतेदसैँ मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षमा यहाँ बिक्री भएको नरिवलको सङ्ख्या र सोही अनुपातमा आउने भक्तजनको मूल्याङ्कन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताउनुभयो । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोका रुपमा कालिका मूर्ति ल्याएको इतिहास छ । राजाले उक्त मूर्ति घना जङ्गलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदसैँ र बडा दसैँमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौँ भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन । बागलुङको पर्यटन प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । पछिल्लो समयमा अन्य गन्तव्य सुरु भए पनि बागलुङको पहिचान चैतेदसैँ मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयवासी पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *