हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा

काठमाडौँ । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्योः) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ ।

जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिएका छन् । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ ।

पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताए । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । वि.सं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको थियो । वि.सं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भएको थियो । करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच ल्याइएन ।हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुभयो। तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ ।

इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गरेका छन् । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको थियो ।

ललितपुरको प्राचीन जतल गाउँभित्र हरसिद्धि भवानीलाई विराजमान गराएपछि त्यस स्थानको नाम नै हरसिद्धि रहन गएको हो । विक्रमसेन राजाले नेपालको राज्य पाएपछि गुह्येश्वरीबाट खड्ग र वर लिइ उज्जैनमा पुगेर त्यहाँका सत्रु हराएको र कुल देवता आह्वान गरेर कलशमा राखी हरसिद्धि ल्याएको देवमाला वंशावलीमा उल्लेख छ । नाचमा विक्रमादित्यका केही प्रसङ्ग पनि नाटकका रुपमा देखाइन्छ । विक्रमादित्यले आराध्य देवीका रुपमा पूजा आराधना गर्ने हरसिद्धि माताकै कृपाले शासन चलाएको विश्वास गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *