जयवागेश्वरीमा हरसिद्धि नाच समापन

काठमाडौँ । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको हरसिद्धि त्रि–शक्ति भवानीको नाच जयवागेश्वरीमा सम्पन्न भएको छ । काठमाडौँको जयवागेश्वरीमा बाह्र वर्षे हरसिद्धि नाचको आजदेखि विधिवत् रूपमा समापन भएको हो ।

वि.सं २०६६ पछि यस वर्ष नाच नचाइएको हो । चैत २५ गतेदेखि विधिवत् रूपमा सुरुआत भएको हरसिद्धिको आज दिउँसो बलि दिई क्षमा पूजा गरेपश्चात् समापन भएको जात्राको संयोजनका लागि खटिएका साधुराम महर्जनले बताए । आफ्नै परम्परागत रीतिरिवाजमा रहँदै आएका २९ जना देवगण र सहायकसहितको १०० जनाको टोली हरसिद्धि नाचमा समावेश रहेका थिए । नाच हेर्न उल्लेख्य मात्रामा भक्तजनको आगमन रहेको आयोजक संस्थाले जनाएको छ ।

धर्म, संस्कृति र जात्राप्रति चासो राख्ने जो कोहीले पनि यो जात्राको महत्व र कथावस्तु बुझ्नुपर्ने पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्यले बताए । हरसिद्धिको विशेषताबारे प्रस्ट पार्दै वैद्यले सुनको ढोकाबाट प्रवेश गरेर चाँदीको ढोकाबाट निस्कने रीतिरिवाज रहेको छ । हरसिद्धिको मूर्ति नभई कलशमा देवी स्थापना गरी छायास्वरूप प्रतीक राखिने गरेको पाइन्छ ।

हरसिद्धिमा विभिन्न कथा विषयवस्तुमा आधारित (नट) सङ्गीतसहितको नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको देवगणले बताएका छन् । हरसिद्धिको नाच २०१८ पछि २०६६ सालमा भएको थियो । हरसिद्धि यसअघि धुलिखेल र दोलखामा गइसकेको छ । जयवागेश्वरीपछि अब चैत २८ गतेदेखि पनौती जाने धनबहादुर महर्जनले बताए । हरसिद्धिलाई पञ्चबलि दिँदा हाँस, बोका, राँगा, माछा र भेडा मात्रै चढाउने प्रचलन रहिआएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *