पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवन

काठमाडौँ । चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उनले यो सेवन सिकेका हुन् ।

तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लागेका छन् । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय छन् ।

वि.सं २०३८ मा जन्मिएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थालेका हुन् । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाले । उनको बानीमा सुधार आएन । झनै उनिमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।

बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उनको ध्यान जान थाल्यो । उनले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाले ।

अधिकारीले विगत सम्झँदै भने, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण भएका उनि १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुबेका थिए । त्यसपछिका उनिका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उनलाई धान्नसक्ने अवस्था रहेन । उनले भने, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।”

लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उनले चोरी, डकैती, लुटपाट केही छाडेनन् । उनले भने, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किएका उनिले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताए ।

घर फर्किएपछि परिवारले उनको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उनले भने, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भने । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्ने बुवासँगै उनि पनि काममा लागे । लत भने छुट्न सकेन । त्यसैबेला उनका परिवारले पुनःस्थापना केन्द्र लागे । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशःउनिमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उनि पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त भए ।

पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उनिमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बनेका अधिकारी जहाँ आफू सुध्रए त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहका छन् । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उनि समय खर्चिने गरेका छन् ।

विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताए । उनले भने, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”

जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उनले भने, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उनले भने, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”

आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उनले भने, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उनले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उनले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाएका छन्, भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *