व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो ।

सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले आग्रह गरेका छन् । उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराएका थिए ।

मुख्यसचिव शङ्करदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताए । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्ने विश्वास दिलाएका छन् । उजले उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने धारणा व्यक्त गरेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पूरानै लयमा फर्किन सङ्घर्षरत रहेको उल्लेख गर्दै बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेका विषयलाई नकार्न नसकिने बताए ।

बढ्दो आयात र कमजोर निर्यात, वैदेशिक सहायता तथा लगानीको अभावका कारण वैदेशिक मुद्राको अभाव भई मुलुकको व्यापारघाटा धान्न नसक्ने गरी बढेको उनले स्पष्ट पारेका छन् । अध्यक्ष मल्लले विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई चिन्तन गर्नुपर्ने र उपयुक्त उपाय निकालेर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याएका छन् । अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि कार्यान्वयनयोग्य व्यावहारिक उपायबारे सुझाव दिनका लागि चेम्बर तयार रहेको उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *