तनहुँको पालिका स्तरमा सत्तासाझेदार दलले सुझाव सङ्कलन गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन् ।

“गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ”, उहाँले भन्नुभयो, “पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौ ।”

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *