डढेलो नियन्त्रणका लागि वन दस्ता

काठमाडौँ । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको हो ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न वनदस्ता परिचालन गरिएको छ । उनीहरुले समुदायमा पुगेर डढेलोबाट हुनसक्ने क्षतिको विषयमा जानकारी गराउनेछन् । डढेलो लागेमा सूचना दिने र क्षति कम गर्ने विषयमा समेत उक्त दस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले जानकारी दिएका छन् ।

गर्मीको समयमा जिल्लामा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अत्यधिक डढेलो लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न कार्यालयले सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया र संयुक्त र्याली, आमा समूहहरुसँग छलफललगायत काम गरिरहेको सूचना अधिकारी खनालले बताए । उनले भने, “डढेलो लाग्नै नदिन र लागेमा नियन्त्रणका लागि समुदाय स्तरमै गरिने कामलाई हामीले तीव्र पारेका छाँै ।”

डिभिजन वन कार्यालयअन्तर्गत जिल्लामा ९३ सामुदायिक वन, पाँच धार्मिक वन, ४३१ कबुलियती वन र १७१ निजी वन छन् । ती वनमध्ये डढेलोको मुख्य जोखिममा बरण्डाभार क्षेत्रमा रहेका १७ सामुदायिक वन रहेको सूचना अधिकारी खनालले जानकारी दिएका छन् । उनका अनुसार मान्छेको पहुँच बढी हुने भएकाले यो क्षेत्रमा डढेलोको जोखिम हुने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *