श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् ।

समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले हाल देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुनरुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।” उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारेका छन् ।

पूर्वगभर्नर डा. नेपालले भने, “श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो तहबाट गुज्रिएका छैनौँ तर, सतर्कता भने हुनुपर्छ ।” नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने भएको तथ्य पेश गर्दै उनले सरकारको सल्लाहकारको रुपमा काम गर्नुपर्ने बताएका छन् ।

उनले कोभिडपछिको अवस्थामा बजेटले केही विषयमा सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गरेका छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको उल्लेख गर्दै हाल विदेशी सञ्चिति कम हुनुको पछाडि पर्यटन क्षेत्र ठप्प हुँदाको असर देखिएको उल्लेख गरेका छन् । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उनले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *