जेलबाट छुटेपछि पनि अपराधमा संलग्न

सुरुङ्गा । कारागार (जेल)बाट छुटेकाहरु नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने ।

वि.सं २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग गरी प्रेसर कुकर बम राखेर आतङ्क मच्चाउने खगेन्द्र खरेल, लागुऔषध कारोबार मुद्दामा पक्राउ परेका गौरादह–२ का ३८ वर्षीय सुमन कार्की र वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ परेका शिवसताक्षी–१ का ३२ वर्षीय शरण लिम्बू भनिने दीलकुमार सामेखाम जेलबाट छुटेलगत्तै पुनः आपराधिक गतिविधिमा संलग्न भएसँगै जेलबाट छुटेकाले नै झापामा आपराधिक गतिविधि गर्दै आएको पाइएको हो ।

वि.सं २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरुकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको थियो । “पक्राउ परेका व्यक्तिउपर अनुसन्धान गर्दा यसअघि पनि यस्तै प्रकृतिका मुद्दामा उनीहरु संलग्न रहेको पाइयो”, प्रहरी उपरीक्षक पोखरेलले भने, “जिल्लामा घटेका केही ठूला आपराधिक गतिविधि घटाउने कार्यमा पुनः उनीहरु नै सक्रिय रहेका रहेछन् ।”

झापाका छुट्टाछुट्टै दुई स्थानमा बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा संलग्नमध्ये पक्राउ परेका व्यक्तिको चिनजान जिल्ला कारागार हुने र जेलभित्र एकआपसमा हितैषी सम्बन्ध उनीहरुबीच स्थापित हुने गरेको उहाँको भनाइ छ । उनका अनुसार सोही क्रममा सुमन, खगेन्द्र र शरण क्रमशः जेलबाट रिहा भएका थिए । जेलबाट छुटेलगत्तै खगेन्द्रले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजलगायतका नारालाई प्रश्रय दिँदै प्रचार–प्रसार सुरु गरेको र उनले क्रमशः उक्त मुद्दामा सहमत हुनेलाई साथी बनाउँदै नयाँ पार्टी निर्माण गर्ने अभियानलाई अघि बढाएको उनले सुनाए ।

सोही क्रममा उनले हिमाल सुरक्षा परिषद् नामक पार्टी नामकरण गरेर विस्तारितरूपमा आफ्ना योजना अगाडि बढाउन थाल्छन् । उनका मुद्दामा सहमत हुनेलाई उनले सशस्त्र आन्दोलन गर्न उक्साउने गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । उनकै योजनाअनुसार पहिलोपटक २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसर कुकर बम राखेर आतङ्क सिर्जना गरिएको पोखरेलले जानकारी दिएका छन् ।

बम राख्ने समूह र व्यक्तिको पहिचान गर्न प्रहरीलाई समस्या भएपछि जिल्ला कारागारबाट पछिल्लो समयमा छुटेका व्यक्तिको विवरण सङ्कलन गर्दै उनीहरुको गतिविधिलाई निगरानी गर्न सुरु गरिएको छ । सोही क्रममा प्रहरीले तिनका गतिविधिलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरेको छ । सोही क्रममा खरेलको सम्पर्क शरण लिम्बूसँग बारम्बार देखिएपछि प्रहरीले दमकस्थित लिम्बू बसेको घरमा छापा मार्दा सो स्थानबाट प्रहरीले २३ ग्राम लागुऔषध बरामद गरे पनि लिम्बू फरार हुन्छन् ।

उनी भारतको पञ्जाब गएर वेटरको काम गर्न सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत खरेलसँग उनको दिनहुँजसो सम्पर्क हुन्छ । प्रहरीले खरेलको खोजी तीव्र पारेसँगै उनी पनि भारतको नक्सलवाडी गएर बसेको प्रहरीको अनुसन्धानबाट खुल्छ । लिम्बू र खरेलले नेपालमा गतिविधि बढाउन कार्कीको सहायतामा योजना सञ्चालन गरिरहेका हुन्छन् । सोही क्रममा उनीहरुले बिर्तामोड र दमकमा बम राखेपछि सो कार्यमा संलग्न पक्राउ गर्न झापा प्रहरी सफल भए पनि मुख्य योजनाकारका रूपमा रहेका खरेललाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरीले गौरादहका ३८ वर्षीय सुमन कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९का ५० वर्षीय देवी बाँस्कोटा गुरागार्इँ, कनकाई–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी–१ का शरण लिम्बू, सङ्खुवासभा खाँदवारी–१० का २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३ का आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार हलुवाईलाई पक्राउ गरेको छ । प्रहरीले मुख्य योजनाकारका रूपमा रहेका खरेललाई माघ १० गतेबाट तीव्ररूपमा खोजी गर्न सुरु गरेको छ ।

खरेलले गौरीगञ्जबाट भारतमा रहेको कल्याणगञ्जलाई मुख्य थलोका रूपमा उपयोग गर्दै नेपालमा आतङ्क सिर्जना गर्ने गतिविधिलाई तीव्रता दिएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ । उक्त विषयको जानकारी खरेलले विभिन्न व्यक्तिबाट पाएसँगै उनले आफ्नो स्थानलाई परिवर्तन गर्दै नक्सलवाडीलाई रोजे । लम्जुङको ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजङ्ग गुरुङलाई एक स्थानमा बम राखेवापत रु एक लाख ५० हजार दिने प्रलोभन देखाएर जोगमनी नाका हुँदै नेपाल पठाउन उनी सफल हुन्छन् । गुरुङ भारतबाट इटहरी–२ की ३२ वर्षीया आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा ठकुरी र उनका छोरा रविन थापाको सम्पर्कमा पुग्छन् । गुरुङ उनीहरुकै घरमा बसेर झापा, मोरङ र सुनसरीका सहरमा आतङ्क सिर्जना गर्ने योजनामा रहेका थिए ।

खरेलकै योजनामा गुरुङले इटहरीस्थित अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने र सोही ठाउँबाट बम विष्फोट गराउने योजनाअनुसार गुरुङ विस्फोटक पदार्थ बनाउँदाबनाउँदै अचानक विस्फोट हुँदा घाइते भएका थिए । लगत्तै प्रहरीले सो घरमा छापा मार्दा हिमाल सुरक्षा परिषद्का गतिविधि फेला पारेसँगै सो घटनामा संलग्न गुरुङसहितका पक्राउ परेका थिए । झापा, मोरङ, सुनसरी तथा प्रदेशका अनुसन्धानमा सक्रिय प्रहरीको साझेदारीमा खरेललाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भएको छ ।

प्रहरीले मुख्य योजनाकार खरेललाई पक्राउ गरेर अहिले अनुसन्धान जारी राखेको छ । उनले हालसम्म आफू नै मुख्य योजनाकार भएको स्वीकार नगरे पनि उनका गतिविधि र प्रहरीको लामो अनुसन्धानपश्चात उनी नै मुख्य योजनाकार रहेको प्रहरी स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *