नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

काठमाडौँ । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताइन् ।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन् । “एनसेल महङ्गो छ, तर राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भनिन् । उनिजस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ । फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी पनि गराएको छ तर, टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझै भएको छ ।

फोर जी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ । बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्या भएको दुई महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिएका छन् ।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उता रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्या आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छाडेको सर्वसाधारण बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर रहे पनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिक पीडा सुनाउँछन् । वर्षामा आकाशमा बादल देखिनेबित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्याले गर्दा आफूहरु हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *