बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका छन् थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गरेका छन् । २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन् । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिहेका छन् । अब उनको कुखुरापालन गर्ने योजना छ ।

“गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए”, थापाले भने, “गाउँमै केही गर्ने सोच पलायो ।” बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ । अहिले उनि फार्म विस्तारमा लागेका । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन् । उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको हो । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनले बताए । “हालसम्म रु ३० लाख लगानी गरिसकेको छु”, उनले भने ।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवद्र्धन गर्न रु नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए । उनले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गरेका छन् । “गाउँ उजाडिँदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के”, थापाले भने ।

व्यवसायमा उनलाई भाइ रिमबहादुरले सहयोग गरिहेका छन् । आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन् । सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए । “बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्”, उनले भने । चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *