मतदाता शिक्षा कार्यक्रमबारे अन्योल

काठमाण्डौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षाको विषयमा अहिलेसम्म आयोगले कुनै निर्णय गरेको छैन । उहाँले भन्नुभयो, “मतदाता शिक्षाको विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । केही दिनमा टुङ्गो लाग्छ ।” विगतमा निर्वाचनका लागि आयोगले मत बदर नहोस् भनेर एक महिनाअघि देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यो । हरेक वडामा एक वा दुई जनाको दरले मतदाता शिक्षाका लागि कर्मचारी खटाउने गरेको भए पनि अहिले भने निर्णय नआउँदा अन्योल भएको छ ।

कार्कीले भन्नुभयो, “मतदाताका लागि शिक्षा दिन अहिले आयोगले सञ्चार माध्यमको प्रयोग गर्ने तयारी गरेको छ ।” उहाँले भन्नुभयो, “मतदाता शिक्षाका लागि एक मतदान स्थलमा दुईजना कर्मचारी खटिन सक्छन् ।” उनीहरुले निर्वाचनको दिनमा मतदान गर्न आउने मतदातालाई नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । आयोगले खर्चमा मितव्ययिता अपनाएर निर्वाचन शिक्षा कार्यक्रमका लागि सञ्चार माध्यमको प्रयोग गर्न लागेको हुन सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा सात स्थानीय तह छन् । एक महानगर, पाँच नगर र एक गाउँपालिका रहेको जिल्लामा १६१ मतदान स्थलमा ४५१ मतदान केन्द्र रहेका छन् । ती मतदान स्थलमा दुई कर्मचारीले मतदाता शिक्षा दिनेछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *