नयाँ वर्षमा पर्यटकले भरियो पोखरा

काठमाडौँ । “कहीँ हिमाल मात्रै छन्
कहीँ त ताल मात्र छन् ।
कही पहाड मात्रै छन्
कहीँ मैदान मात्र छन् ।।
कहीँ छन् छहरा मात्रै
पहरा कहीँ केबल ।
नदी मात्रै कहीँ बग्छन्
कहीँ छन् खालि जङ्गल ।।
सम्पूर्ण दिव्यशोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण–शोभाले परिपूर्णछ पोखरा ।।”

कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भनेजस्तै यो स्थल विविधतायुक्त सौन्दर्यको खानी हो । यहाँको प्राकृतिक सौन्दर्यताले स्वदेशी एवं विदेशी जो कोहीलाई पनि लोभ्याउने गरेको छ । हिमाल, ताल, मठमन्दिर आदिले पोखराको महिमा र गरिमा बढाएको छ । यहीको प्राकृतिक सौन्दर्यतासँगै पोखरामा पर्यटक लक्षित पूर्वाधार बन्नेक्रम पनि उत्तिकै बढेको पाइन्छ । कोरोनाका कारण झण्डै दुई वर्षयता सुस्ताएको यहाँको पर्यटनमा नयाँ वर्ष २०७९ को आगमनले भने उत्साह थपेको पर्यटन व्यवसायी बताउँछन् ।

नयाँ वर्षको अवसर पारी पोखरा आएका पर्यटकका कारण यहाँका होटेल यसपटक ८० प्रतिशत भरिभराउ देखिएको होटेल एशोसिएसन नेपाल(हान)का जिल्ला अध्यक्ष लक्ष्मण सुवेदी बताए । माछापुच्छ्रे« र अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसँगै यहाँका तालतलैया, गुफा, मठमन्दिर घुम्न प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भागबाट पर्यटक आउने भएकाले यहाँका होटेलमा पर्यटकको चाप बढ्ने गरेको छ । तर दुई वर्षयता कोरोनाका कारण यहाँको पर्यटन व्यवसाय प्रत्यक्ष असर पुगेको थियो । नयाँ वर्षको आगमनपूर्व नै पोखरा आउने अधिकांश पर्यटकले अग्रीमरुपमा होटेल बुकिङ गरेको होटेल एड्मायर पोखरा प्रालिका सञ्चालक एवं नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ(एनटिभिए) गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डे जानकारी दिएका छन् ।

“नयाँ वर्षका अवसरमा देशका विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकले पोखरा भरिँदा व्यवसायीमा पनि उत्साह थपेको छ”, उने भने, “नयाँ वर्षको अघिल्लो दिनदेखि आजसम्म अधिकांश होटेलमा पर्यटक छन् । पोखरा भित्रिएका पर्यटक भोलिदेखि घर फर्कनेक्रम सुरु हुन्छ ।” पर्यटकको चाप बढेसँगै उनीहरूले प्रयोग गर्ने पर्यटक यातायातका साधनले पनि यसबीचमा राम्रै काम पाएको उल्लेख गर्दै अध्यक्ष पाण्डे यस अवधिमा झण्डै ९० प्रतिशतभन्दा बढी पर्यटन यातायातका साधन व्यस्त बनेको छ भने ।

नयाँ वर्षको बिदासँगै बीचमा आज एक दिन शुक्रबार परेको र भोलि शनिबार पनि बिदा भएकाले अधिकांशले नयाँ वर्षका लागि घुम्ने कार्यक्रम बनाएको पाइएको छ । नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल सङ्घले आयोजना गर्ने गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको यहाँका व्यवसायी बताएका छन् । पोखराका लागि यो समय विदेशी पर्यटक आउने याम पनि हो । अध्यक्ष सुवेदीका अनुसार तालैतालको यस सहरमा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र चार तारे चार वटा, तीनतारे स्तरका १५ वटा र लेकसाइड क्षेत्रमा अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । लेकसाइडसहित आसपासका क्षेत्रमा गरी झण्डै एक हजार २०० सङ्ख्याका होटेलले पर्यटकलाई सेवा प्रवाह गरिरहेको उनले बताए ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । हालसम्म पोखराका होटेलमा झण्डै चार खर्बभन्दा बढी लगानी भइसकेको अध्यक्ष सुवेदी जानकारी दिएका छन् । सन् १९८० को दशकदेखि यहाँको पर्यटन फस्टाउँदै गएको पाइन्छ । माछापुच्छ्र«े हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेव मूर्तिजस्ता ठाउँ छन् । यहाँका विन्ध्यवासिनी, तालबाराही, भद्रकालीजस्ता ऐतिहासिक महत्वका धार्मिकस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका पर्यटकीय गन्तव्य हुन् । यी स्थलका अतिरिक्त लेखनाथ क्षेत्रमा वेगनाश, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरे पनि यहाँका महत्वपूर्ण स्थल हुन् ।

पछिल्ला समयमा पर्यटकको बसाइँ लम्ब्याउने गरी तयार गरिएका पूर्वाधार विकासको क्रम पनि पोखरामा बढिरहेको छ । स्वच्छ हावापानी, सुन्दर दृश्य आदिले पर्यटक लोभ्याउने गरेको पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, पुन हिललगायत स्थानमा पदयात्राका लागि पर्यटक जाने गर्दछन् । पछिल्ला दिनमा पदयात्राका लागि विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेपछि पदयात्रामा प्रयोग गरिने सामग्रीको व्यापारमा पनि आशा जगाएको ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएसन(टेसा) जिल्ला अध्यक्ष नारायण सापकोटा बताए । “लामो समयदेखि कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले विस्तारै गति लिन थालेपछि व्यापार व्यवसायमा सकारात्मक सङ्केत मिलेको छ”, उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *