जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । “कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो”, जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने । सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दैछ ।

वि.सं २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।

दमौलीमा योग विज्ञान शिविर सुरु

पतञ्जली योग जिल्ला समिति तनहुँको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा आजदेखि वृहत योग विज्ञान शिविर सुरु भएको छ । योगप्रति सर्वसाधारणलाई आकर्षित गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ खुला मैदानमा बृहत् योग विज्ञान शिविर सुरु भएको छ । शिविर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

‘योग गरौँ ः निरोगी रहौँ’ भन्ने नारासहित योगको बारेमा प्रचारप्रसार गर्दै स्वस्थ रहन उत्प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बृहत् योग विज्ञान शिविर व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । जुनसुकै उमेर र क्षमताका महिला तथा पुरुष निरोगी भएमा सधैँ स्वस्थ रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योगको आवश्यकता रहेको श्रेष्ठले बताए ।

शरीरमा रक्तसञ्चार बढाउन, शरीरका सबै अङ्गमा अक्सिजनको मात्रा पुर्याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोग जस्तै टाउको दुखाइ, कब्जियत हुने, घुँडा दुखाइ, मधुमेहसम्बन्धी समस्या निराकरणका लागि नियमित योगको आवश्यकता रहेको श्रेष्ठ बताए ।
पतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा खैरेनीटारमा पनि शुक्रबारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा सुरु शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिएका छन् ।

पछिल्लो समय जिल्लामा योगको आकर्षण बढिरहेको छ । पतञ्जली विभिन्न स्थानीय तह र सङ्घसंस्थासँग समन्वय गरी योग शिविर सञ्चालन गर्दै आएको छ । यस अगाडि व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिका–५ चापाघाटमा र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा आँबुखैरेनी गाउँपालिका–३ रामशाह प्राविमा शिविर सञ्चालन गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *