नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा

काठमाडौँ । सुदूरपश्चिम प्र्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले डडेल्धुरा पुगेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुदूरपश्चिमका नौवटै जिल्लामा नमूना कार्य गरेर देखाउने बाचा गरेका छन् । सुदूरपश्चिम अझै पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि रहेको बताउँदै उनले जनतामुखी बजेट ल्याउन सबै क्षेत्रका विज्ञ व्यक्तिसँग छलफल गरिरहेको जानकारी दिएका छन् ।

जिल्ला सदरमुुकाम पुगेका सामाजिक विकासमन्त्री बोहराको जिल्लावासीले अभिनन्दनसमेत गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका अमरगढी–३ चमसाल घर भएका गोविन्दराज बोहरा पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन् ।

स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकाल अवधिमा लक्षित समुदायका मानिसको निःशुल्क स्वास्थ्य बीमा गर्ने मन्त्री बोहराले बताए । सुदूरपश्चिमका कुनै पनि व्यक्तिले औषधि नपाई वा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन सरकारी तवरबाट नै स्वास्थ्य बीमा गराइने मन्त्रीले बताए । सोमबारसम्म गृहजिल्ला भ्रमणमा आएका मन्त्री बोहराले कांग्रेस हरेक क्षेत्रमा बलियो रहेको कुरा उल्लेख गर्दै तल्लो कमिटीले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । डडेल्धुराका सातवटै स्थानीय तहमा पार्टीको सूचाङ्क बलियो देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *