आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेका पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिएका छन् ।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक÷एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिएका छन् । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ । कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरुलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताएका छन् । उनले भने, “गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । सोही दिशामा नै छलफल भइरहेको छ ।” उनले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताएका छन् । उनले भने, “सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।”

साझा निर्वाचन चिन्ह बनाउन गाह्रो छ

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा निर्वाचन चिन्ह बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताए । गठबन्धनमा आबद्ध दलहरुकाबीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उनले भने, “निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिन्ह प्रयोग गर्दा सजिलो भने हुन्छ ।”

उनले एउटै पार्टीभित्र त साझा मत बनाउन गाह्रो हुने भएकाले गठबन्धन गर्दा केही असन्तुष्टि र केही विवाद हुनुलाई लोकतन्त्रमा अस्वभाविकरुपमा लिन नहुने उल्लेख गरेका छन् । साझा उद्देश्यका साथ एउटै मोर्चामा खडा भएका कारण सबै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले साझा सङ्कल्पलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरेका छन् । उनले गठबन्धन कायम नभएका स्थानमा जो जससँग मिल्न सकिन्छ, त्यहाँ मिलेर जाने भन्नेमा सहमति रहेको बताए ।

उनले आफ्नो पार्टीलाई मात्रै गठबन्धन आवश्यक नभएको भन्दै साझा उद्देश्यका साथ अगाडि बढेकाले त्यसमा दाँयाबायाँ नहुने स्पष्ट पारेका छन् । माओवादीले एकलरुपमा निर्वाचन लड्नुपरे पनि त्यसको तयारी गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *