त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरुका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको अनअराइभल कक्षमा आज नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । उनका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा बैंकको एटिएम राखिने योजनाअनुसार काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरुलाई साथमा २०० डलर बोकेर आउन आग्रह गरेको थियो । धेरै भीडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी आलोचना भएपछि विमानस्थलले सुधारका लागि तयारी गर्नुका साथै एटिएमसमेत थप गर्न थालेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *