निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् ।

“केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भने, “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।”

नेकपा(माओवादी केन्द्र) द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी ? भन्ने प्रश्नको जिज्ञासामा भने, “विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।”

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरुको गठबन्धनलाई नै जनताले पुनःसाथ दिने विश्वास व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *