म्याग्दीमा उम्मेदवार छनोटमा सकस

काठमाडौँ । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् । बेनी नगरप्रमुखमा कांग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताए । “सहमतिको अन्तिम प्रयत्न अझै पनि छ”, उनले भने, “समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।” कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहोर्याउने घोषणा गरेको छ ।

कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताउनुभयो । कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए । माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक/एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।

अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ । पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन् ।

एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिएका छन् ।

अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।

धौलागिरिको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *