मानिस र जनावरको डिएनए परीक्षण

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए । उनका अनुसार कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको उनले बताए । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्या आउनसक्ने देखिएकाले समितिले केही वर्ष पहिले निर्णय गरेर अहिले स्थगित गरिएको हो ।”

नेपाल प्रहरीले केही वर्ष पहिलेबाट आफ्नै प्रयोगशालामा डिएनए परीक्षण गर्दै आएको छ । प्रहरीले अनुसन्धानको क्रममा परीक्षण गर्छ भने अदालतमा पुगिसकेको मुद्दामा आवश्यक हुँदा समितिले परीक्षण गर्ने डिएनए युनिटका प्रमुख क्षेत्रीले बताएका छन् । अदालत, नेपाल प्रहरी, ब्रिटिस गोर्खासम्बन्धी तथ्याङ्क राख्ने कार्यालय, अध्यागमन कार्यालयबाट नमूना आउने गरेको छ । खासगरी अंश मुद्दामा वा नाता कायम गर्ने नातामा डिएनए परीक्षण हुँदै आएको छ । मुद्दा जिल्ला, पुनरावेदन वा सर्वोच्च अदालतमा पुग्दा पनि परीक्षणका लागि आउने गरेको डिएनए युनिटका प्रमुख क्षेत्रीले बताए । उनले भने, “कहिलेकाहीँ जिल्लामा नै मुद्दा हुँदा परीक्षण हुन्छ भने कहिले पुनरावेदनका लागि माथिल्लो अदालतमा पुग्दा पनि आउने गरेको छ ।”

डिएनए परीक्षणका लागि गत आवमा १२८ मुद्दाका २४० नमूना प्राप्त भएकामा समितिले राय दिइसकेको छ । जैविक नाता कायमसम्वनधी २३ मुद्दाका ६५ नमूना थियो । जनावरको प्रजाति पहिचानसम्वनधी ९६ मुद्दामा १५३ नमूना परीक्षण गरिएको थियो । ६२ मुद्दाका १०२ नमूना वन्यजन्तुको मासु, हाड, दाँत, छाला, रौँ, पित्त, सिङ, खाग, कस्तुरी, बीना, रगत शङ्का गरेर परीक्षणका लागि ल्याइएको थियो । यी नमूना डिभिजन वन कार्यालय, प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल र पशु सेवा कार्यालयबाट प्राप्त भएको थियो ।

प्रयोगशालाले जैविक नाता कायमसम्वन्धी एसटिआर एनालाइसिस र प्रजाति पहिचान डिएनए सिक्विन्सिङ प्रविधिमार्फत गरिँदै आएको छ । जनावर र मानिसको आठ वटासम्म नमूना एउटै प्रविधिबाट एउटै समयमा हुँदै आएको छ । सातामा दुई पटक परीक्षण गरिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *