राष्ट्रिय पञ्चाङ्ग वैशाखको पहिलो हप्तामा पनि निस्किएन; ‘पञ्चाङ्ग निर्णायक विकास समिति’का कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको सुर्य पञ्चाङ्ग नबिकी राष्ट्रिय पञ्चाङ्ग बजारमा आउने छाट छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।
यस वर्ष समितिसँग स्वीकृति नलिई निस्किएका नेपाल र मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का लागि समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सामग्री दिएको एक पञ्चाङ्कारले बताए ।  
समितिले १४ वटा पात्रोलाई पुस १६ गते स्वीकृति दिएको थियो । स्वीकृति दिएपछि पञ्चाङ्गकार र समितिका पदाधिकारीले करिब एक हप्ता समितिकै कार्यालयमा बसेर ग्रहणका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा कार्यकारी निर्देशक ढुङ्गेलको पञ्चाङ्गको पृष्ठ ७३ मा उल्लेख गरिएको ग्रहणको विषयमा गल्ती थियो । त्यो गल्ती पञ्चाङ्गकारले औँल्याएपछि सूर्य पञ्चाङ्गमा सच्याइएको छ । सूर्य पञ्चाङ्ग प्रकाशन हुँदा यो गल्ती सुध्रेर आएको र त्यही गल्ती स्वीकृति लगत्तै नेपाल र मुक्तिनाथ पञ्चाङ्गलाई दिएर तत्काल प्रेसमा पठाएकाले सच्याउन नसकिएको स्रोतले जनाएको छ ।
दुवै पञ्चाङ्गमा सूर्यग्रहण फल ठीक छ । चन्द्रग्रहण फलमा भने सूर्यग्रहण फलकै कपी गरेर पेस्ट गरेपछि नसच्याएको स्वरुपमा मेष राशिको पनि स्त्रीपीडाबाट सुरु गरिएको छ । चन्द्रग्रहण फलमा घातबाट सुरु हुनुपर्ने थियो । सूर्य पञ्चाङ्गले भने पञ्चाङ्गकारले औँल्याएपछि यो गल्ती सच्याएको स्रोतको दावी छ । यो गल्ती औँल्याउने पञ्चाङ्गकार र त्यो बैठकमा सहभागीहरु त्यतिबेला छाँगोबाट खसेजस्ता भए जतिखेर नेपाल र मुक्तिनाथ पञ्चाङ्ग बजारमा आयो ।

बैठकमा सूर्य पञ्चाङ्गमा जे गल्ती जुन पृष्ठमा थियो । दुवै पञ्चाङ्गमा त्यही गल्ती तिनै पृष्ठमा रहनुले पनि समितिको स्वीकृति नलिई प्रकाशन भएका दुवै पञ्चाङ्गलाई कार्यकारी निर्देशक ढुङ्गेलले नै सामग्री दिएको पुष्टि भएको हो । दुवै पञ्चाङ्गलाई कार्यकारी निर्देशक ढुङ्गेलले नै पात्रोका सामग्री दिएको पुष्टि गर्ने अर्को आधार भनेको पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेशको दफा ७ को ञ र ठ बुँदामा उल्लेख भए अनुसार कारबाही नगर्नुले पनि पुष्टि गर्ने ती पञ्चाङ्गकारको भनाई छ ।

लाखौँको खेलमा कार्यकारी निर्देशक
सरकार मातहतको समितिको सम्पत्तिका रुपमा रहेको सामग्री कार्यकारी निर्देशकले लाखौँ रुपैयाँमा बेचेको स्रोतको दावी छ । यस वर्षका पात्रोमा बजारमा पहिलोपटक स्वीकृति नै नलिएका नेपाल र मुक्तिनाथ पञ्चाङ्ग देखा परेका थिए । बजारमा पात्रो आएपछि त्यसैका आधारमा भित्तेपात्रो छापिने भएकाले यसमा लाखौँको खेल हुने गरेको छ ।

डेढ दशकभन्दा लामो समयदेखि यही खेलमा लागेकै कारण रामेछापका एक सरकारी शिक्षकले राजधानीका चावहिलमा घर र निजी गाडी जोड्न सकेको पनि स्रोतले जनाएको छ । कार्यकारी निर्देशकको सम्पत्तिको छानबिन गर्न पनि उनका सहकर्मीले माग गरेका छन् ।

आफैँले सामग्री दिएका पञ्चाङ्गलाई कारबाही गर्नुपर्ने पदमा ढुङ्गेल छन् । तर उनले केही पनि कारबाही अघि बढाएका छैनन् । अहिलेसम्म लिखित रुपमा स्पष्टीकरणसमेत सोधिएको छैन । कारबाही नगरी समितिका पदाधिकारी एवं सदस्यलाई कार्यकारी निर्देशकले गुमराहमा राखेको ती पञ्चाङ्गकारको भनाई छ ।

तीन जना पञ्चाङ्गकारले फागुनमै समितिमा स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता गराएकामा अहिलेसम्म केही पनि प्रक्रिया अघि बढाएको छैन । समितिका कार्यकारी निर्देशकले सरकारी सञ्चारमाध्यमलाई प्रयोग गरी मौखिक स्पष्टीकरण सोधिने समाचार सार्वजनिक गरेर हास्यापद काम गर्नुले पनि उनने दुवै पञ्चाङ्गलाई सामग्री उपलब्ध गराएको पुष्टि हुन्छ ।

कार्यकारी निर्देशक समितिको कार्यालय प्रमुखका रुपमा समेत काम गर्ने पद भएकाले पनि पदाधिकारी भन्दा जिम्मेवार हुनुपर्नेमा गैर जिम्मेवार भएका छन् । कार्यकारी निर्देशक ढुङ्गेलले आफू अनुकुल समितिलाई चलाउने गरेका छन् । समितिका गतिविधि अपारदर्शी छन् ।

गठन आदेशको मस्यौदा हुँदादेखि नै ढुङ्गेलले खेल खेल्दै आएका छन् । समितिको गठन आदेशमा अध्यक्ष र सदस्य पदको योग्यतामा ज्योतिष वा धर्मशास्त्र विषयमा आचार्य गरेकालाई मात्र नियुक्त गर्ने व्यवस्था गरिएको छ । तर समितिको कार्यकारी निर्देशक एवं कार्यालय प्रमुख भई काम गर्नुपर्ने पदमा भने जुनसुकै विषयमा स्नातक गरे पुग्ने योग्यता राख्न नै ढुङ्गेलले आफू अनुकुल काम गरेको पञ्चाङ्गकारको भनाई छ ।

यस विषयमा मन्त्रालयले पनि राम्रोसँग नहेर्दा व्यवस्थित गर्न खोजिएको पात्रो र भित्तेपात्रोको काम लथालिङ्ग अवस्थामा पुगेको छ । ढुङ्गेलले स्वार्थ अनुकुल समितिलाई हिँडाउँदा पनि मन्त्रालयले अनुगमन गरेको छैन ।
वैशाखको पहिलो हप्तामा पनि निस्किएन राष्ट्रिय पञ्चाङ्ग
समितिले यस वर्ष सरकारी पात्रोका रुपमा राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्ने घोषणा गरे पनि अझै बजारमा देखिएको छैन । यसो गर्नुमा पनि कार्यकारी निर्देशक ढुङ्गेलेकै हात रहेको छ । निजी क्षेत्रबाट समितिको स्वीकृतिमा निस्कने पञ्चाङ्ग पुस अन्तिम सातादेखि नै बजारमा देखिएको थियो । तर सरकारी पात्रो अझै बजारमा आएको छैन ।

कार्यकारी ढुङ्गेल आफैँ सूर्य पञ्चाङ्गको हर्ताकर्ता भएकाले आफ्नो पात्रो बिक्रीमा असर गर्ला भनेर ढिलाई गरिरहेको समिति स्रोतले वाणिज्य न्यूज डटकमलाई जानकारी गराएको छ । सरकारी संस्थाजति डुबाउने खेलमा ढुङ्गेल पनि सहभागी बनेका छन् ।

रामेछापमा सरकारी शिक्षक भएकै बेला ढुङ्गेलले राजदरबारको शक्ति प्रयोग गर्दै समितिमा काज मिलाई सदस्य सचिव हुँदै अहिले कार्यकारी निर्देशक पद हत्याएका हुन् । उनकै तजबिजले व्यवस्थित हुन लागेको यो क्षेत्रमा झन् विकृति मौलाउने देखिएपछि सार्वजनिक रुपमा यी विषय ल्याउनुपरेको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *