विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका-१३ धनेवास्थित पुलमा यूपी ५३ सिएल ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटनामा हुँदा चालक भारत घर भएका ५३ वर्षीय रबिन्द्र नाथ पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका-७ गौरीपारास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने लक्ष्मी नारायण यादबकी छोरी १ वर्षीया शिवानीजी यादबको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी, चितवनको रत्ननगर नगरपालिका-९ भानुचोकस्थित सडकमा बीआर ०६ जीडी ८६७२ नम्बरको ट्रकले साईकललाई बुधबार दिउँसो ठक्कर दिँदा साईकलमा सवार रत्ननगर नगरपालिका-१० बस्ने राम बहादुर परियारको छोरा ६ वर्षीय प्रिन्स परियारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साइकल चालक घाइते भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, रुपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा एलएल ०१ एल ९७५८ नम्बरको लहरीमा लु.७४ प ४४७९ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही सियारी गाउँपालिका-२ बस्ने २५ वर्षीय राम निवास वेलदार र सोही ठाउँ बस्ने ५० वर्षीय रामायण पासी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु दुवै जनाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार लहरी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, सुनसरीको रामधुनी नगरपालिका-२ स्थित सडकमा को १७ प ३२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हसनपुर नहरको पुलबाट नहरमा खस्दा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४३ वर्षीय धुर्ब कुमार चौधरीको बुधबार साँझ मृत्यु भएको छ । उक्त पुलबाट मोटरसाइकल खसी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकली र अस्थाई प्रहरी पोष्ट पोष्ट झुम्काबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल र उनको शव फेला पारेको हो । शव निकाल्न ढिलो भएको विषयमा स्थानीयबासीहरूले बा.२ झ १९०८ नम्बरको गाडी तोडफोड गर्नुका साथै ड्युटीमा खटिएको प्रहरीलाई समेत हातपात गरेपछि हातपातमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *