उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान

भजनी । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उनिसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सकेका छैनन् ।

कर्णेलसिंहलाई परिवार पाल्नका लागि त्यहीँ तीन बिघा जग्गा नै प्रमुख आधार हो । डेढ दशक पहिले कर्णेलसिंहले त्यहीँ खेतबाट मनग्ये आम्दानी गर्दै आएका । उनले त्यसैबाट उत्पादन भएको अन्नले परिवार पालेका थिए भने, आर्थिक जोहोको माध्यम पनि त्यहीँ खेत थियो । अहिले त्यहीँ खेतमा कुनै अन्न उत्पादन नभएपछि उनले त्यो क्षेत्रबाट माटो बेचेर आर्थिक जोहो चलाउन थालेका छन् ।

कान्द्रा नदीको किनारमा रहेको खेतमा वर्षेनी नदीको बाढीका कारण वर्षात्मा खेत नै बगर बन्ने गरेको छ । अहिले खेतमा अन्न उब्जाउन नसकिने भएपछि परिवारको जोहो चलाउनकै लागि कर्णेलसिंहले खेतको माटो बेच्नुपर्ने बाध्यता आएको हो । “जग्गा छैन भनौँ भने तीन बिघा छ, उत्पादनका क्षेत्रमा अहिलेसम्म कुनै फाइदा लिन सकेको छैन”, कर्णेलसिंहले भने, “कुनै बेला आफूलाई चाहिने खाद्यान्न उत्पादन गरेर त्यहीँबाट घरको आर्थिक जोहोसमेत गर्न सकिन्थ्यो, अहिले नदीको कटान र डुबानले खेत नै रहन्छ कि रहँदैन भन्ने चिन्ता छ ।”

कर्णेलसिंहले तीन बिघा खेतबाट रु ५०० का दरले २३० टिपर माटो बिक्री गरेका छन् । त्यसबाट उनले रु एक लाख १५ हजार आम्दानी गरेका छन् । उनलाई घरको आर्थिक जोहो टार्नका लागि नै खेतको माटो बिक्री गर्नुपरेको हो । “कोरोनाका कारण अन्य सबै आर्थिक स्रोत गुमे, अरुबाट ल्याएको ऋण तिर्नका लागि पनि खेतको माटो बिक्री गर्नुपर्यो”, कर्णेलसिंहले भने,

त्यस क्षेत्रमा माटो बेच्नेमा कर्णेलसिंह एक उदाहरण मात्रै हुनुहुन्छ । हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ सत्तीदेखि धनगढीसम्म निर्माण हुँदै आएको सडकका लागि निर्माण कम्पनीले किसानको खेतबाट माटो उठाउन थालेपछि अधिकांश किसानले नदीको किनारसँग जोडिएका खेतको माटो बिक्री गर्न बाध्य भएका छन् । थोरै भए पनि आम्दानी हुने र त्यसैबाट खाद्यान्नको जोहो गर्न थालेको भजनी–५ का विमलबहादुर साउद बताए ।

“माटो बिक्री गर्ने रहर थिएन, खेतबाट खाद्यान्न उत्पादन नभएपछि खानका लागि खेतमा भएको माटो बिक्री गर्नुको विकल्प हामीसँग रहेन”, विमलले भने, “अहिले त्यहीँ माटो बेचेर वर्षभरिका लागि खान चाहिने गहुँ खरिद गरेको छु, रहरभन्दा बाध्यताले बनेको खेतलाई कुरुप बनाएर आफ्नो आवश्यकता पूरा गर्नुको विकल्प हामीसँग छैन ।”

भजनी नगरपालिका चार नदीको बीच भागमा रहेकाले पनि बाढी र डुबानको समस्याका कारण भजनीका स्थानीय आजित बनेका छन् । विशेषगरी काढा, कन्द्रा, मोहना र पथरैया नदीको जोखिमका कारण स्थानीय वर्षात्का समयमा नदीका कारण हुने डुबान र कटानले वर्षेनी विस्थापित हुँदै आएका छन् । निर्वाचनका समयमा नदीको तटबन्ध निर्माण गर्ने एजेन्डा प्रत्येक राजनीतिक राजनीतिक दलले उठाउँदै आएको भए पनि त्यसको कार्यान्वयन कसैले नगरेको जनाउँदै भजनी–३ का सर्जन साउदले यसपटक भने एजेन्डा नभई काम गर्नसक्ने क्षमता भएको व्यक्तिलाई मतदान गर्ने बताए ।

हुलाकी सडकको काम माटोको अभावमा रोकिएको भए पनि अहिले किसानले खेतबाट माटो उत्खनन गर्न दिएपछि कामसमेत सञ्चालन भएको छ । नदी किनारबाट माटो उत्खननको काम बन्द भएको र स्थानीय तहले सहजरूपमा माटो उत्खनन गर्न नदिएपछि सडकको काम रोकिएको हो । माटोको अभाव हुन थालेपछि सडक निर्माणको काम समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.