उपाधि जित्ने पुलिस र एपीएफको दाबी

काठमाडौं । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना ३ वैशाखदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् ।

उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् । ‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले गाह्रो भइरहेको छ । कुनै बेला लाइट बिग्रिँदा खेलको रिदम बिग्रने समस्या छ,’ कप्तान बस्नेतले भनिन्, ‘सात वर्षपछि फाइनल पुगेका छौं । महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पीयन हुन्छौँ । त्यही हिसाबको तयारी छ ।

एपीएफएका प्रशिक्षक जनकसिंह थारूले पनि जित्नको लागि खेल्ने बताए । ‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं,’ प्रशिक्षक थारूले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपीएफल सेमिफाइनलमा आर्मीलाई ३-२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताहरूको फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताइन् । ‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं,’ कप्तान गुरुङले भनिन्, ‘लाइटमा नयाँ अनुभव लिइरहेका छौं । रमाइलो पनि भइरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राती हुँदा सजिलो पनि भएको छ ।’

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि जित्नकै लागि फाइनल खेल्ने बताए । ‘धेरै वर्षपछि फाइनल पुगेका छौं । जित्नको लागि खेल्छौं,’ प्रशिक्षक जोशीले भने, ‘मैदानमा केही समस्या छ । बललाई चाहेअनुसार खेलाउन गाह्रो भइरहेको छ । नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाइरहेको छ । राम्रै नतिजा आउँछ ।’ पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३-० को अन्तरले हराएको थियो भने क्वाटरफाइनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ । प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई पाँच हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद् रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *