डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग आज भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा. टेड्रोसले बताए प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन् ।

त्यस अवसरमा डा. टेड्रोसले नेपालले दक्षिण एशियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरुमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्वस्वास्थ्य सङ्गठनलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *