राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोसद्वारा शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् । उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरेका छन् । त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानकाबारेमा जानकारी गराए । महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए । उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन् । उनि यही वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *