नेपाली उत्पादन बढाउने अवसर हो : उपाध्यक्ष पौडेल

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताए । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताए ।

उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो विषय उठानको उपयुक्त समय भएको बताए । उनले भने, “सोमबार दिउँसोसम्ममा आयोगमा आउनुहोस्, यो विषयमा गम्भीररूपमा छलफल गरौँ ।”

नेपाली औषधि उद्योगको अवस्थाका बारेमा विस्तृत विवरणसहित आउन उनले आग्रह गरेका छन् । तथ्यका आधारमा बसेर छलफल गर्नुपर्ने पौडेलको भनाइ थियो । सरकार आफैँले बनाएका ऐन, नियम कार्यान्वयन हुन नसक्दा उद्योग समस्यामा रहेको जनाएपछि पौडेलले विस्तारै यो समाधान हुँदै जाने बताए । प्राविधिक जनशक्ति पलायन हुने समस्याले गर्दा कतिपय काम समयमा हुन नसकेको पौडेलले बताएका छन् ।

सो अवसरमा औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले उद्योग थपिएअनुसार विभागमा जनशक्ति नहुँदा काममा ढिलाइ भएको स्वीकार्नुभयो । उनले भने, “ऐन, नियम राजनीतिक तहबाटै प्रतिबद्धता जनाएर कार्यान्वयन हुनुपर्छ ।” औषधि उद्योग प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई परिवर्तन गरेर समय थप गर्न लागिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष दीपक दाहालले कार्यपत्र प्रस्तुत गर्दै नेपालका औषधि उद्योगका समस्या र भारतलगायत छिमेकी देशले औषधि उद्योगलाई दिने सुविधाका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको बताए । औषधि अनुसन्धानशाला स्थापना गर्न, औषधि उपकरणमा अनुदान दिने, पाँच वा पाँचभन्दा बढी औषधि उद्योगले उत्पादन गर्ने औषधिको कच्चा पदार्थमात्रै आयात गर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले सहुलित ऋण र औषधि उद्योग निर्माणमा लाग्ने सामग्रीको मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने बताए ।

सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे, निवर्तमान अध्यक्ष जीनारायणबहादुर क्षेत्री, महासचिव विप्लव अधिकारीलगायतले औषधि उद्योगका समस्याबारे जानकारी गराएका थिए । नेपाल फर्मा एक्स्पो २०२२ को सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । शुक्रबारदेखि सुरु भएको सम्मेलन आज भोलि सकिँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *