चितवनमा कांग्रेसलाई महानगरको मेयर उमेदवार बन्नबाटै बञ्चित

चितवन । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन । सत्तागठबन्धनले महानगरको मेयरको उमेदवार बन्नबाटै चितवन कांग्रेसलाई बञ्चित गरायो ।

मेयरका लागि कांग्रेसमा २५ जनाले आकांक्षा देखाएका थिए । उनीहरुले प्रति व्यक्ति तीन हजार रुपैयाँ तिरेर पार्टीमा आफ्नो मनोनयन दर्ता पनि गरेका थिए । तर, चितवनका कांग्रेसीले यसपाली पनि महानगरको मेयरमा रेनु दाहाललाई नै भोट हाल्नुपर्ने अवस्था बनेको छ । आफुहरुलाई अन्याय भएको भन्दै शुक्रबार नेता कार्यकर्ताले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरे । गठबन्धनको केन्द्रीय निर्णयबाट असन्तुष्ट बनेका नेता कार्यकर्ताले शनिबार महानगरको मेयरमा बागी उमेदवारी दिने घोषणा गर्ने तयारी गरेका थिए । केन्द्रीय सदस्यहरु अनुपस्थित भएपछि असन्तुष्ट पक्षले घोषणा गर्न सकेन ।

कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले कांग्रेसलाई बचाउने ऐतिहासिक क्षण आएको बताए । ‘म के कुरामा प्रस्ट छु भने हामी माओवादीसँग मिलेर जान सक्दैनौँ । हाम्रो जित्ने ठाउँ अरुलाई दिएर पार्टीलाई कमजोर बनाइँदै छ’, उनले भने । कांग्रेस महासमिति सदस्य मिना खरेलले कांग्रेस नेता कार्यकर्ताको जायज कुरा पार्टीले सम्बोधन गर्नुपर्ने बताउँछिन् । ‘कांग्रेस कार्यकर्ताको एउटै चाहना छ रुख चिह्नमा मतदान गर्न पाउने । यो जायज कुरा हो । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।

नेपाली कांग्रेस चितवनका पूर्वप्रवक्ता उद्दव लोहनीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा सैद्धान्तिक र वैचारिक विचलन आएको बताए । गठबन्धन गरेर अरु दललाई भोट हाल्न निर्देशन दिने देउवालाई उनले पार्टीको विधानबाट रुख चिह्न हटाएर देखाउन चुनौति दिए । नेपाली कांग्रेस भरतपुर–१८ का वडा सभापति रामकृष्ण पण्डितले अन्यायपूर्ण तरिकाले भरतपुरमा गठबन्धन भएको बताए । कांग्रेस भरतपुर–१९ का सभापति आशराम तामाङले विद्रोह गरेर मेयरमा उमेदवारी दिने नेतालाई काँध थाप्न तयार रहेको बताए ।

अघिल्लो चुनावमा नेता कार्यकर्ताको विरोधबीच महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई कांग्रेसीले मत दिनुपरेको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको साक्षी बसेको कांग्रेसले माओवादीसँगको गठबन्धन टुटेपछि माओवादीको विरोध गर्दै आएको थियो । पाँच वर्षपछि हुन लागेको अर्को चुनावमा पुनः रेनु दाहाललाई नै मत दिनुपर्ने अवस्थामा चितवन कांग्रेस पुगेको हो ।

२०७४ मै भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि क्षेत्र नं ३ मा कांग्रेसीले हलोमा मत दिनुपर्ने बाध्यता बनेको थियो । क्षेत्र नं ३ मा भरतपुर महानगरको अधिकांश भाग पर्छ । भरतपुर महानगरमा बसोबास गर्ने कांग्रेसीहरु बढी अन्यायमा परेका छन् । उनीहरूले लगातार तेस्रो पटकसम्म पनि आफ्नो चुनाव चिह्न रुखमा भोट खसाल्न नपाउने निश्चित छ ।

नेता कार्यकर्ताको भावना विपरित गठबन्धनले निर्णय गरेको बताएका जिल्ला सभापति खनालले बिहीबार केन्द्रीय परिपत्र बाहिर गएर गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए । खनाल संस्थापन इतरबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । चितवनमा कांग्रेसको संस्थापन इतर बलियो छ । २०७४ मा मेयरको टिकट पाइसकेका दिनेश कोइरालाको उमेदवारी देउवाले नै अन्तिम समयमा काठमाडौँबाटै निर्वाचन अधिकृतलाई पत्र लेखेर फिर्ता लिएका थिए । अहिले कोइराला कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *